भारतका राजनीतिक दलहरूको सम्पत्ति एक संस्थाले सार्वजनिक गरेको छ। एसोसिएसन फर डेमोक्रेटिक रिफम्र्स (एडीआर)ले सार्वजनिक गरेको विवरणअनुसार सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) सबैभन्दा धनी दल देखिएको छ।
धनीमध्ये पहिलो नम्बरमा भाजपा, दोस्रो नम्बर बहुजन समाज पार्टी (बीएसपी) र तेस्रो धनवान दल कंग्रेस–आई देखिएको छ।
एडीआरले आर्थिक वर्ष २०१९–२० को सम्पत्ति विवरण सार्वजनिक गरेको हो। विवरणमा दलहरूको ऋण पनि उल्लेख छ।
उक्त आवमा सातवटा राष्ट्रिय दलहरूको सम्पत्ति ६ हजार ९८८ दशमलव ५७ करोड भारतीय रुपैयाँ पाइएको छ। यस्तै, ४४ वटा क्षेत्रीय दलहरूको सम्पत्ति दुई हजार १२९ दशमलव ३८ करोड देखिएको छ।
राष्ट्रिय पार्टीहरूमा भाजपाको सम्पत्ति चार हजार ४८७ दशमलव ७८ करोड भारतीय रुपैयाँ देखिएको छ। यस्तै, बीएसपीको ६९८ दशमलव ३३ करोड र कंग्रेस–आईको पाँच सय ८८ दशमलव १६ करोडको सम्पत्ति पाइएको छ।
४४ वटा क्षेत्रीय पार्टीमध्ये समाजवादी पार्टीको सम्पत्ति सबैभन्दा बढी पाँच सय ६३ दशमलव ४७ करोड पाइएको छ। यस्तै, तेलंगना राष्ट्र समिति (टीआरएस)को सम्पत्ति तीन सय एक दशमलव ४७ करोड छ। र, अल इन्डिया अन्ना द्रबिड म्युन्यत्र कडगम (एआईएडीएमके)को सम्पत्ति दुई ६७ दशमलव ६१ करोड पाइएको छ।