नयाँदिल्ली- भारतका सोनी पिक्चर्स नेटवर्क र जी इन्टरटेन्मेन्ट इन्टरप्राइज आपसमा विलय हुने भएका छन् । त्यससम्बन्धी सम्झौतामा दुवै कम्पनीका व्यवस्थापनले हस्ताक्षर गरेका छन् ।
समाचार एजेन्सी पीटीआईका अनुसार लामो संवाद र नेगोसिएसनपछि विलयको निष्कर्षमा पुगेको दुवै कम्पनीले बताएका छन् । दुवै कम्पनीले आफ्नो लिनियर नेटवर्क्स, डिजिटल एसेट्स, प्रोडक्सन अपरेसन र प्रोग्राम लाइब्रेरी पनि आपसमा गाभ्ने सम्झौता गरेका छन् ।
गत सेप्टेम्बरमा दुवै कम्पनी मर्जरका लागि संवादमा रहेको खुलासा भएको थियो । दुवै कम्पनीबीच भएको सम्झौताअनुसार सोनीसँग ५१ प्रतिशत हिस्सेदारी रहने भएको छ । यस्तै, जीका संस्थापकले करिब चार प्रतिशत मात्र हिस्सेदारी लिने भएका छन् । बाँकी हिस्सेदारी जी टीभीका सेयर होल्डरहरूसँग रहने छ ।
मर्जरपछि बन्ने कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) जी टीभीका पुनित गोयल रहने भएका छन् । सोनी म्याक्स र जी टीभीको स्ट्रिमिङ प्लेटफर्म ‘जी–५’को स्वामित्त्व पनि नयाँ कम्पनीकै हुने सम्झौतामा उल्लेख छ ।