नयाँदिल्ली- चीनले भुटान र भारतको अरुणाचलको नजिक पर्ने गरी बस्ती बसाएको छ । नयाँ बस्ती भारतले दाबी गर्दै आएको वास्तविक नियन्त्रण रेखा (लाइन अफ एक्चुअल कन्ट्रोल– एलओएसी)को उत्तरमा अवस्थित छ ।
एक स्याटेलाइट तस्बिरका अनुसार चीनको नयाँ बस्ती सवेए अफ इन्डिया तथा म्याकमोहन लाइनको भित्र देखिएको छ ।
एनडीटीभीको एक रिपोर्टअनुसार अरुणाचल प्रदेशको नजिकमा चीनले करिब ६० वटा भवनको गाउँ तयार पारेको छ । सन् २०१९ सम्म उक्त गाउँ देखिएको थिएन । एक वर्षभित्रै चीनले गाउँ बसाएको अनुमान भारतीय सञ्चार माध्यमहरूको छ ।
म्याकमोहन लाइन भनेको सन् १९१३–१४ मा तत्कालीन ब्रिटिस–भारत, तिब्बत र चीनबीच सिमलामा आयोजित सम्मेलनमा तय गरिएको सीमा रेखा हो । तथापि, चीन यस लाइनलाई अवैध मान्छ ।
यसैबीच, भुटानको सीमा नजिक पनि चीनले पछिल्ला वर्षमा चारवटा बस्ती स्थापना गरेको छ । ती गाउँ करिब एक सय वर्गकिलोमिटर क्षेत्रमा फैलिएका छन् । ती गाउँ डोक्लामको नजिक पर्छन् । सन् २०१७ मा डोक्लाममा भारत र चीनका सेना आमनेसामने भएका थिए ।