काठमाडौँ – ‘एभ्रिथिङ एभ्रिवेयर अल एट वन्स’ स्टार मिसेल योहले हलिउडको प्रतिष्ठित अवार्ड स्क्रिन एक्टर्स (साग) मा सर्वोत्कृष्ट अभिनेत्रीको पुरस्कार जितेकि छिन् ।
यो जितसँगै उनी साग अवार्ड जित्ने पहिलो एसियाली अभिनेत्री बनेर इतिहास रचेकी छन् ।
अवार्ड ग्रहण गर्दैगर्दा भावुक सुनिएकी अभिनेत्री योहले स्टेजमा भनिन्, ‘तपाईं सबैलाई उतारचढावपूर्ण यात्राबारे थाहा छ । तर महत्वपूर्ण कुरा हामी कहिल्यै हार मान्दैनौं । म तपाईंलाई धन्यवाद दिन्छु । यो मेरो लागि मात्र होइन, यो म जस्तो देखिने हरेक साना केटीको लागि हो ।’
यस वर्षको साग अभिनेत्रीको मनोनयनलाई २९ वर्षको इतिहासमै समावेशी मानिएको छ । एना डे अर्मास (ब्लान्डे), भियोला डेभिस (द वुमन किंग), डेनियल डेडवाइलर (टिल) छन् ।
मिसेल अभिनित फिल्म ‘एभ्रिथिङ एभ्रिवेयर अल एट वन्स’ यस वर्षको ओस्कारमा सर्वाधिक ११ विधामा मनोनयन भएको छ ।