सुनसरी- बराहक्षेत्र नगरपालिका वडा १ कार्यालयले माउन्ट एभरेस्ट स्पोर्टिङ क्लबका महिला फुटबल खेलाडीहरूलाई जर्सी प्रदान गरेको छ।
बराहक्षेत्र–२ मा रहेको क्लबले स्थानीय जुनियर महिला खेलाडीहरूलाई दैनिक प्रशिक्षक सूर्य तुम्बाहाम्फेको निगरानीमा प्रशिक्षण गराउँदै आएको छ। हाल २२ जना जुनियर महिला खेलाडीहरू निरन्तर प्रशिक्षणमा रहेकोे तुम्बाहाम्फेले जानकारी दिए।
इलामको माङसेबुङ गाउँपालिका ५ लारुम्बामा ०६७ सालदेखि ‘पवित्रा हाङ्मा कप’ निरन्तर सञ्चालन हुँदै आइरहेको प्रदेश–१ को मात्र नभई नेपालकै प्रतिष्ठित महिला फुटबल प्रतियोगिता हो।
१३ औं संस्करणको ‘पवित्रा हाङ्मा कप–२०७९’ २३ माघदेखि ३ फागुनसम्म सञ्चालन हुने प्रतियोगितामा बराहक्षेत्रको प्रतिनिधित्व गर्दै माउन्ट एभरेस्ट स्पोर्टिङ क्लबका जुनियर महिला खेलाडीहरूले पनि सहभागी जनाउँदै छन्।
खेलाडीहरूलाई हौसला दिने उद्देश्यले वडा नम्बर १ को कार्यालयबाट १८ थान जर्सी र मोजा खेलाडीहरू रेविशा श्रेष्ठ, दिया श्रेष्ठ, रचना राईलाई संयुक्त रूपमा जर्सी वडाध्यक्ष किशन मगरले हस्तान्तरण गरेका हुन्। खेलकुदको विकासमा पनि वडा उत्तिकै जिम्मेवार रहेको र खेलाडीहरूलाई सहयोग गर्ने आफ्नो दायित्व रहेको उनले बताए।
ती सामग्री प्राप्त गरेपछि क्लब र महिला फुटबल खेलाडीहरूको तर्फबाट प्रशिक्षक तुम्बाहाम्फेले वडाध्यक्ष मगर र वडा कार्यालयप्रति कृतज्ञता ज्ञापन गरे।
तुम्बाहाम्फेको प्रशिक्षण र निगरानीमा उत्पादित बराहक्षेत्र–१–२ बाट राष्ट्रिय खेलाडीहरू पवित्रा राई, मनिषा विष्ट र मुना मगरले बराहक्षेत्रको प्रतिनिधित्व गर्दै आफ्नो खेल, कौशल र प्रतिभा देश–विदेशमा देखाइरहेका छन्।