काठमाडौँ । दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति एफडब्ल्यू डे क्लर्कको नोबेल शान्ति पुरस्कारको पदक चोरी भएको छ । गत अप्रिलमा उनको घरबाट उक्त पुरस्कार चोरी भएको उनको फाउन्डेसनले पुष्टि गरेको छ ।
स्थानीय सञ्चार माध्यममा आएको विवरणका अनुसार उनको केप टाउनको घरमा लुटपाटको क्रममा पुरस्कार चोरी भएको जनाइएको छ । सन् १९९३ मा नेल्सन मण्डेलासँगै रंगभेदको अन्त्यका लागि गरेको प्रयासका लागि डे क्लर्कले पुरस्कार प्राप्त गरेका थिए ।
दक्षिण अफ्रिकी सञ्चार माध्यमका अनुसार प्रहरीले कुनै पनि पदक बरामद गरेको छैन । स्थानीय समाचार वेबसाइट न्यूज २४ सँग कुरा गर्दै डे क्लर्ककी विधवा एलिटाले भनिन्, ‘विदेश यात्राबाट घर फर्किंदा पदकसहित बहुमूल्य सामग्री चोरी भएका थिए ।’
‘मेरो धेरै गहनाहरू चोरिएका थिए, चोरिएका गहनाको मूल्य निर्धारण गर्न गाह्रो छ, तिनीलाई पछिल्लो ५० वर्षको अवधिमा मलाई विभिन्न अवसरमा प्रदान गरिएको थियो,’ उनले भनिन् ।