काठमाडौँ । आज सेप्टेम्बर ११ । अमेरिकी इतिहासको कालो दिन । सन् २००१ को सेप्टेम्बर ११ को मंगलबार आक्रमणकारीको एउटा समूहले अमेरिकी यात्रुवाहक विमानलाई आफ्नो नियन्त्रणमा लिएर चार ओटा आत्मघाती हमला गराएको थियो । हमलाले विश्वलाई स्तब्ध पारेको थियो ।
अतिवादीले क्यालिफोर्निया उड्न लागेका चार वटा विमानलाई अपहरण गरी न्युयोर्क र वासिंगटनका महत्वपूर्ण भवनमा ठोक्काएका थिए । दुई विमानलाई विश्व व्यापार केन्द्रको जुम्ल्याहा भवनमा विस्फोट गराइएको थियो ।
स्थानीय समयअनुसार बिहान ८ बजेर ४६ मिनेटमा पहिलो टावरमा विस्फोट गराइएको थियो । १६ मिनेटपछि दोस्रो टावरमा ठोक्काइएको थियो ।
विस्फोटपछि टावरमा दुई घन्टासम्म आागो लागेको थियो । ११० तले दुवै भवनमा ठूलो क्षति पुगेको थियो । ९ बजेर ३७ मिनेटमा तेस्रो विमानलाई अमेरिकी रक्षा मन्त्रालय रहेको भवन पेन्टागनमा जोतिएको थियो । वासिंगटनतर्फ बढिरहेको अर्को विमान पेन्सालभेनियाको आकाशमा विस्फोट भएको थियो ।
ती सबै हमलामा १९ आक्रमणकारीसहित करिब तीन हजार जनाको मृत्यु भएको थियो । आक्रमणमा अर्बौं डलर क्षति भएको थियो । साउदी नागरिक ओसामा बिन लादेनको नेतृत्वको अतिवादी सञ्जाल अलकायदाले हमला गरेको थियो । आक्रमणमा संलग्न अन्य १५ जना पनि साउद अरबका थिए । दुई जना युएई, एक जना इजिप्सेली र अर्का लेबनानका थिए । एजेन्सी