काठमाडौँ । पाकिस्तानमा २४ घण्टायता भएको निरन्तरको वर्षासँगै आएको बाढीमा परी कम्तीमा ३६ जनाको मृत्यु भएको छ ।
यहाँका उद्धार अधिकारीले दिएको समाचारअनुसार पाकिस्तानको दक्षिणी सिन्ध प्रान्त सबैभन्दा बढी प्रभावित भएको छ । यो प्रान्तमा मात्र १८ जनाको मृत्यु भएको छ । सय जनाभन्दा बढी घाइते छन् ।
त्यसैगरी पाकिस्तानको उत्तरपश्चिमी खैबर पाक्थुन्क्वामा पनि बाढीको प्रकोप बढेको छ । सो प्रान्तमा गएको २४ घण्टायता बाढीमा परेर कम्तीमा ११ जनाले ज्यान गुमाएका छन् । उक्त दुई प्रान्तमा वर्षा जारी रहेकाले बाढीको थप प्रकोप बढ्न सक्ने भन्दै सतर्क रहन सरकारले सूचनाहरु जारी गरेको छ ।
यहाँको राष्ट्रिय प्रकोप व्यवस्थापन निकायले क्षतिको विवरण आउन बाँकी रहेको बताएको छ । उक्त निकायले गएको २४ घण्टामा पाकिस्तानका कैयौँ क्षेत्रमा बाढी र वर्षा आएको भन्दै शनिबार बिहानैदेखिको वर्षा अविरल रुपमा आइतबार बिहानसम्म आएकाले अरु पनि क्षति भएको अनुमान गरिएको छ ।
विवरण आउन बाँकी रहेको सो निकायले जनाएको छ । पछिल्लो वर्षा र बाढीले २० हजारभन्दा बढी घर भत्किएका छन् । यो मनसुनी वर्षामा मात्र पाकिस्तानमा सात सयभन्दा बढीको ज्यान गएको छ । यसमा परेर हजारौँ व्यक्ति घरबारविहीन भएका बताइएको छ ।