काठमाडौँ । छिमेकी देश भारतको राजधानी नयाँ दिल्लीमा अरविन्द केजरीवालको सरकारले सार्वजनिक यातायातमा ठूलो लगानी गरेको छ । महिलालाई निःशुल्क रुपमा सार्वजनिक यातायातमा सवारी गर्न पाउने प्रबन्ध गरिएको छ । दिल्ली परिवहन निगममार्फत नागरिकको सहज आवागनमा सरकार लागिपरेको छ ।
सार्वजनिक यातायात प्रणालीबारे अध्ययन गर्ने एक अन्तर्राष्ट्रिय संस्थाका अनुसार सिङ्गापुरको यातायात प्रणाली संसारकै सबैभन्दा राम्रो मानिन्छ । विशेष प्रवेशाज्ञा भएकाले न्यूनतम सात अमेरिकी डलरदेखि १४ दशमलव ५० अमेरिकी डलरमा सहज रुपमा यात्रा गर्न पाउँछन् ।
त्यस्तै, बेलायतको सार्वजनिक यातायात पनि उत्तिकै महत्वपूर्ण र उदाहरणीय मानिन्छ । एक अध्ययनअनुसार बेलायतका ८५ प्रतिशत मानिस सार्वजनिक यातायातको सेवाबाट सन्तुष्ट छन् ।
उत्कृष्ट सेवा प्रदान गर्नेमा हङकङको सार्वजनिक यातायात प्रणालीलाई लिइन्छ । कूल रुपमा ५० सेन्टदेखि सात दशमलव ५० अमेरिकी डलरसम्म मात्रै भाडा लाग्ने त्यहाँको सार्वजनिक यातायाता प्रणालीबाट ८३ प्रतिशत जनसङ्ख्या सन्तुष्ट छन् । त्यहाँको सार्वजनिक यातायातलाई ९९ दशमलव नौ प्रतिशत समयमै सेवा उपलब्ध गराउने गरेको छ ।
फ्रान्सको पेरिस, स्पेनको म्याड्रिड, अमेरिकाको शिकागो र न्यूयोर्क, जापानको टोकियो, युनाइटेड अरब इमिरेटको दुबई, चीनको सांघाई र बेइजिङ, स्वीटजरल्याण्डको जुरीच, पराग्वे, स्वीडेनको स्टकहोम, जर्मनीको बर्लिन, रसियाको मस्को, दक्षिण कोरियाको सिऊल, इटालीको मिलान, क्यानडाको टोरन्टो र चिलीको सान्टियागोमा सेवा दिइरहेको सार्वजनिक यातायात प्रणालीलाई संसारकै उत्कृष्ट मानिन्छ ।