नयाँदिल्ली- भारत पञ्जाबस्थित पटियाला अदालतले पञ्जाबी गायक दलेर मेहन्दीलाई यसअघि तोकिएको दुई वर्षको जेल सजायलाई निरन्तरता दिएको छ।
अदालतको फैसलालगत्तै दलेरलाई प्रहरीले हिरासतमा लिएको छ। सन् २००३ मा गैरकानूनी रूपमा मानिसलाई विदेश पठाएको अभियोगमा उनीविरुद्ध दुई वर्षको जेल सजाय सुनाइएको थियो।
मानिसलाई गैरकानूनी रूपमा विदेश पठाउँदा उनले मोटो रकम असुलेको अभियोग पुष्टि भएको थियो। उक्त अभियोगमा उनलाई सन् २०१८ मा अदालतले दोषी ठहर गरेको थियो। त्यसविरुद्ध उनी सेसन्स कोर्टमा गएका थिए। सेसन्स कोर्टले डिस्ट्रिक्ट कोर्टको फैसला सदर गरेको हो।
सन् २००३ मा उनीबाट पीडित एक नागरिकले दलेरविरुद्ध उजुरी दिएका थिए। उनी र उनका भाइ शम्शेर सिंहले सन् १९९८ र १९९९ मा १० जनालाई अवैध रूपमा अमेरिका पुर्याएको पुष्टि भएको थियो। उनीहरू अवैध रूपमा मानव ओसारपसारमा संलग्न भएको आरोप उजुरीकर्ताले लगाएका थिए।