काठमाडौं– अफगानिस्तानमा शक्तिशाली भूकम्पमा परी कम्तीमा २५० जनाको मृत्यु भएको छ भने धेरै संख्यामा मानिस घाइते भएका छन् ।
सबैभन्दा बढी क्षति पक्तिका प्रान्तमा भएको छ । यस प्रदेशमा ठूलो संख्यामा घर भग्नावशेषमा परिणत भएका छन् ।

सामाजिक सञ्जालमा आएका तस्बिरबाट घाइतेको सङ्ख्या अनुमान गर्न कठिन छ। सञ्जालमा आएको तस्विरमा घाइतेहरुलाई स्ट्रेचरमा बोकेर हिँडेको देख्न सकिन्छ । एक स्थानीय अधिकारीले सञ्चार माध्यमलाई मृतकको संख्या हाल २५० रहेको तर यो संख्या अझै बढ्न सक्ने जनाएका छन् । घाइतेको संख्या १५० भन्दा बढी रहेको उनले बताए ।

सञ्चार माध्यमका अनुसार भूकम्पको केन्द्रविन्दु दक्षिणपूर्वी सहर खोस्तबाट ४४ किलोमिटर टाढा रहेको थियो । अफगानिस्तान, पाकिस्तान र भारतमा भूकम्पको धक्का महसुस गरिएको छ । यससँगै भूकम्पको धक्का अफगानिस्तानको राजधानी काबुल र पाकिस्तानको राजधानी इस्लामावादसम्म महशुस गरिएको थियो ।
