भारतीय राष्ट्रिय कंग्रेसका पूर्वअध्यक्ष राहुल गान्धीसँग नेसनल हेराल्ड मामिलामा इन्फोर्समेन्ट निर्देशनालयले सोमबार बयान लिँदैछ। त्यसविरुद्ध कंग्रेसले विरोध प्रदर्शन गर्ने भएको छ।
गान्धीसँग बयान लिनुलाई कंग्रेसले राजनीतिक प्रतिशोध भनेको छ। नयाँदिल्लीस्थित पार्टी मुख्यालयबाट निर्देशनालयसम्म कंग्रेसले विरोध प्रदर्शन गर्ने भएको छ। उक्त प्रदर्शनमा कंग्रेस शासित प्रदेशका मुख्यमन्त्रीहरू पनि सहभागी हुने भएका छन्।
कंग्रेसको प्रायोजन रहेको योङ इन्डियन प्रालिमा वित्तीय अनियमितताको आरोप लागेको छ। उक्त कम्पनी नेसनल हेराल्डको स्वामित्त्वमा छ। कम्पनीविरुद्ध नौ महिनाअघि मनी लन्ड्रिङ कानूनमा मुद्दा चलाइएको छ।
कंग्रेस वरिष्ठ नेता पी चिदम्बरमले गान्धीमाथि मनी लन्ड्रिङ प्रकरणमा लगाइएको आरोप आधारहीन बताएका छन्। उनका अनुसार उक्त मामिला हुण्डी कारोबारसँग सम्बन्धित छैन। र, नियमित बैंकिङ कारोबारको एक हिस्सा मात्र हो।
छत्तीसगढका मुख्यमन्त्री भूपेश बघेलले पनि नेसनल हेराल्ड मामिलालाई नरेन्द्र मोदी सरकारले गान्धी परिवारमाथि उत्पीडनका लागि प्रयोग गरिरहेको बताएका छन्। मोदी सरकारले उक्त निर्देशनालयसहित सीबीआई र आयकर विभागलाई विपक्षमाथि दमन गर्ने नीतिका रूपमा प्रयोग गरिरहेको उनको दाबी छ।