काठमाडौँ । श्रम तथा रोजगार मन्त्रालयले २५० वटा मेनपावर कम्पनीको इजाजत पत्र रद्द गर्ने तयारी गरेको छ । एक आर्थिक वर्षमा कम्तिमा सय जना कामदारलाई पनि वैदेशिक रोजगारीमा पठाउन नसक्ने मेनपावरको इजाजत रद्द गर्ने भएको हो ।
‘एक आर्थिक वर्षमा सय जनाभन्दा कम कामदार पठाउने करिब २५० मेनपावरको इजाजत रद्दको तयारी भइरहेको छ,’ मन्त्रालयको उच्च स्रोतले भन्यो ।
वैदेशिक रोजगार ऐन २०६४ र वैदेशिक रोजगार नियमावली २०६४ मा वर्षमा सय जना कामदार वैदेशिक रोजगारीमा पठाउन नसक्ने वैदेशिक रोजगार व्यवसाय इजाजत प्राप्त संस्थाको इजाजत स्वतः खारेज हुने व्यवस्था छ ।
कोरोना भाइरसका कारण नेपाली कामदार वैदेशिक रोजगारीमा जान नपाएको भन्दै अघिल्लो आर्थिक वर्षमा मन्त्रिपरिषद् बैठकले वैदेशिक रोजगार ऐनको बाधा अड्काउसम्बन्धी व्यवस्थाअनुसार आदेश जारी गर्दै सबै म्यानपावर कम्पनीको इजाजतपत्र नवीकरण गराउन विभागलाई निर्देशन दिएको थियो ।
गत वर्ष असार १४ गते भएको मन्त्रिपरिषद् निर्णयअनुसार कोरोना भाइरसले वैदेशिक रोजगार ऐन र नियमावलीको व्यवस्था कार्यान्वयन गर्न बाधा परेकाले २०७८–०७९ का लागि नवीकरण गराउन आएमा नवीकरण गर्न श्रम मन्त्रालयले विभागलाई पत्राचार गरेको थियो । तर, कोरोना महामारी कम भएसँगै कम कामदार पठाउनेहरूको इजाजत पत्र खारेज हुने भएको हो ।
यो वर्ष वैदेशिक रोजगार विभागले मेनपावरको नवीकरणका लागि गत जेठ २४ गते सूचना जारी गर्दै असार मसान्तभित्र नवीकरण गरिसक्न समय सीमा तोकेको छ । जसमा पेश गर्नु पर्ने कागजातमा २०७८–७९ मा कामदार पठाएको हुनु पर्ने उल्लेख छ ।