काठमाडौं- आज १२ सेप्टेम्बर। विश्व इतिहासका विभिन्न घटनाले आजको दिन स्मरण गराउँछन्। प्रस्तुत छ, तीमध्ये केही प्रमुख घटनाको सारसंक्षेप।
– सन् १९७०- सोभियत संघले पठायो लुना-१६
तत्कालीन सोभियत संघले अन्तरिक्षमा पठाएको ‘लुना-१६’ मिसन चन्द्रमामा अवतरण गरेको पहिलो रोबोटिक मिसन थियो। २४ सेप्टेम्बरमा उक्त मिसन धर्तिमा फर्किएको थियो।
– सन् १९७४- इथियोपियामा ‘कु’
सन् १९७४ मा आजकै दिन भएको सैन्य ‘कु’मार्फत सम्राट हेली सेलासीलाई गद्दीच्युत गरिएको थियो। सैन्य ‘कु’को नेतृत्व इथियोपियाको सशस्त्र फौज र देशका अन्य कानून कार्यान्वयन एकाइका सदस्य सम्मिलित समूहले गरेको थियो। सैन्य ‘कू’पछि सम्राट सेलासीलाई कैद गरिएको थियो। त्यसको २ वर्षपछि उनको निधन भएको थियो।
– सन् १९९२- प्रथम अश्वेत महिला अन्तरिक्षमा
फिजिसियन माए सी. जेमिसन आजकै दिन अन्तरिक्ष यात्रामा निस्केकी थिइन्। उनी अन्तरिक्ष यात्रा गर्ने पहिलो अश्वेत (अफ्रिकी-अमेरिकी) महिला हुन्। विशेषज्ञहरू सम्मिलित ‘एसटीएस-४७’ अन्तरिक्ष मिसन नासाले पठाएको थियो। यो नासाको स्पेस सटल कार्यक्रमको ५०औं शृंखला थियो। जेमिसनले १९० घण्टा अन्तरिक्षमा बिताएकी थिइन्। र, त्यसक्रममा भारहीनता र मोसन सिकनेसका बारेमा प्रयोग गरेकी थिइन्।
– सन् २०१२- फ्याक्ट्री आगलागीमा ३१४ मारिए
पाकिस्तानको लाहोर र कराँचीमा आजकै दिन एक कारखानामा भएको आगलागीमा परी ३१४ जनाको ज्यान गएको थियो।
– सन् २०१८- ३६ सय बालबालिकालाई इसाई धर्मगुरुहरूको शोषण
सन् २०१८ मा आजकै दिन जर्मनीमा सार्वजनिक भएको एक गोप्य दस्तावेजमा ३ हजार ६०० बालबालिकालाई इसाई धर्मगुरुहरूले यौन शोषण गरेको उल्लेख थियो। सन् १९४६ देखि २०१४ को ६८ वर्षको अवधिमा क्याथोलिक धर्मगुरुहरूले शोषण गरेको सार्वजनिक भएको थियो।
– सन् २०२२- ५ करोड मानिस आधुनिक दासतामा
सन् २०२२ मा आजकै दिन संयुक्त राष्ट्र संघले विश्वलाई झस्काउने एक तथ्यांक सार्वजनिक गरेको थियो। राष्ट्र संघको अन्तर्राष्ट्रीय श्रम संगठनले सार्वजनिक गरेको उक्त तथ्यांकअनुसार विश्वका ५ करोड मानिस आधुनिक दासतामा परेको पाइएको थियो। पछिल्ला ५ वर्षभित्र जबर्जस्ती श्रम र विवाहमा पारेर त्यति ठूलो जनसंख्यालाई दास बनाइएको थियो। त्यसअघि उक्त आँकडा १ करोड मात्र थियो।
– सन् २०२२- आर्मेनिया र अजरबैजान युद्धमा मारिए १०० सैनिक
सन् २०२२ मा आजकै दिन आर्मेनिया र अजरबैजानबीच सीमा युद्ध भएको थियो। त्यस युद्धमा दुवै मुलुकका १०० सैनिक मारिएका थिए।
– सन् २०२४- दुर्व्यवहारमा परेका ४०२ बालबालिकाको उद्धार
सन् २०२४ मा आजकै दिन मलेसियाली प्रहरीले दुर्व्यवहारमा परेका ४०२ जना बालबालिकाको उद्धार गरेको थियो। जीआईएसबी नामक व्यापारिक समूहले उनीहरू माथि दुर्व्यवहार गरिरहेको थियो।
– सन् २०२४- स्पेसएक्स मिसनको स्पेसवाक
सन् २०२४ मा आजकै दिन स्पेसएक्सका पोलारिस डन मिसनको चालक दलले पृथ्वीको कक्षमा ५ दिने यात्राको दौरान पहिलो व्यावसायिक स्पेसवाक गरेको थियो। यो अमेरिकी अन्तरिक्ष अभियान नासाको एपोलो कार्यक्रमपछि कुनै मानिसले अन्तरिक्षमा गरेको सबैभन्दा लामो यात्रा हो।
– सन् २०२५- नेपालमा पहिलो महिला प्रधानमन्त्री
नेपालमा आजकै दिन पहिलो महिला प्रधानमन्त्रीका रूपमा पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले पद सम्हालेकी थिइन्। उनी नेपालको पहिलो महिला प्रधानन्यायाधीश पनि हुन्। जेन-जी विद्रोहमार्फत एमाले र कांग्रेसको गठबन्धन सरकार ढालिएपछि अन्तरिम सरकारको प्रधानमन्त्री कार्कीलाई बनाइएको थियो। उनको सरकारलाई ६ महिनाभित्र निर्वाचन सम्पन्न गराउने म्यान्डेट दिइएको थियो। र, आफूलाई दिएको म्यान्डेट पूरा गरेर कार्कीले नयाँ सरकारलाई पद हस्तान्तरण गरेकी थिइन्।