काठमाडौँ । सुर्खेतबाट जाजरकोट जाँदै गरेको क ०२–००१ च ०३४१ नम्बरको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जाजरकोटको जुनीचाँदे गाउँपालिका ५ मा जीप दुर्घटना भएको हो ।
घटनामा ५ जना गम्भीर घाइते भएका छन् । यस्तै, चार जना सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृतकको सनाखत हुन सकेको छैन ।
घटनामा घाइते भएकाहरूलाई गृहमन्त्री बालकृष्ण खाँणले उद्धार गर्न निर्देशन दिएको छ । उनले हेलिकोप्टरबाट उद्धार गरी तत्काल उपचारको व्यवस्था मिलाउन निर्देशन दिएका हुन् ।
गृहसचिव टेकनारायण पाण्डे, मन्त्रालयका शान्ति शुरक्षा तथा अपराध नियन्त्रण महाशाखा प्रमुख सहसचिव फणिन्द्रमणि पोखरेल र जाजरकोटका प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीलाई घाइतेको हेलिकोप्टरमार्फत तत्काल उद्धार र उपचारको व्यवस्था मिलाउन निर्देशन दिएका हुन् ।
जाजरकोटका प्रजिअ शाहीले गृहमन्त्री खाणको निर्देशनपछि नेपाली सेनाको सुर्खेत कार्यालयसँग हेलिकोप्टरका लागि समन्वय भइ कालिकोटमा रहेको हेलिकोप्टर उद्धारका लागि घटनास्थल नजिक पुग्दै गरेको जानकारी दिए ।