काठमाडौँ । ब्रिटिश प्रधानमन्त्री बोरिस जोनसनले आफ्नो पार्टीबाट विश्वासको मत प्राप्त गरेका छन् । उनीविरुद्ध आफ्नो कन्जर्भेटिभ पार्टीमा विश्वास नरहेको भन्दै केही सांसदले विश्वासको मत लिनु पर्ने प्रस्ताव दर्ता गराएका थिए ।
उनीप्रति विश्वास छ भने विश्वासको मतको पक्षमा २११ जना सांसदले मत दिएका छन् । उनको दलका सांसदहरु ३५९ जनामध्ये २११ जनाले विश्वासको मतको पक्षमा मतदान गरेका थिए ।
योसँगै जोनसन एक वर्षका लागि सत्ताधारी कन्जरभेटिभ पार्टीको नेतृत्वमा रहने पक्का भएको छ । हिजोको मतदानमा उनको विपक्षमा १४८ जना सांसदले मत दिएका थिए ।
प्रधानमान्त्री जोनसनले विश्वास मत प्राप्त गरेपछि आफूलाई नतिजा राम्रो लागेको प्रतिक्रिया दिएका थिए । उनले सो नतिजालाई निर्णायक भनेको बताए । उनले उक्त नतिजा आफ्ना लागि धेरै राम्रो भएको बताए ।
यो नतिजासँगै उनी अब प्रधानमन्त्री पदबाट हट्नु नपर्ने भएको छ । उता आलोचकले भने उनका विरुद्धमा पार्टीभित्रैबाट एक प्रकारको विद्रोह भएको बताएका छन् र यसले आगामी दिनमा उनका अधिकारमा कटौती हुन सक्ने बताएका छन् ।
आफ्नो पार्टीबाट अविश्वासको प्रस्ताव आएपछि उनलाई कतिपयले राजीनामा दिन पनि आह्वान गरेका छन् ।