काठमाडौं- आज २० सेप्टेम्बर। विभिन्न विश्व घटनाले आजको दिन स्मरण गराउँछन्। प्रस्तुत छ, तीमध्ये केही घटनाको सारसंक्षेप।
– सन् १९०४- विल्बर राइटले गरे पहिलो सर्कुलर उडान
आधुनिक हवाई जहाजका आविष्कारक विल्बर राइटले आजकै दिन पहिलो सर्कुलर उडान गरेका थिए। आफ्ना भाइ ओर्भिल राइटसँग मिलेर आधुनिक हवाई जहाजको आविष्कार गरेका हुन्। पहिलो सर्कल उडान १ मिनट १६ सेकेन्डको थियो। ‘राइट फ्लायर २’ नाम दिइएको जहाजमा उनले उडान गरेका थिए।
– सन् २००१- राष्ट्रपति बुसले गरे आतंकवादविरुद्ध युद्ध घोषणा
तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज डब्लू बुसले आजकै दिन आतंकवादविरुद्ध विश्वयुद्ध घोषणा गरेका थिए। ११ सेप्टेम्बर २००१ मा न्युयोर्कका ट्विन टावरमा विमान ठोक्काएर ध्वस्त बनाइएपछि उनले युद्ध घोषणा गरेका थिए।
– सन् २०११- अमेरिकी सेनाको ‘नसोध’, ‘नबोल’ नीति अन्त्य
सन् १९९४ मा तत्कालीन राष्ट्रपति बिल क्लिन्टन प्रशासनले उक्त नीति स्थापित गरेको थियो। उक्त नीतिअन्तर्गत समलिंगी अमेरिकी नागरिकले सेनामा भर्ति पाउँदैनथे। त्यसैले सन् २०११ सम्म आफ्नो समलैंगिकताको बारेमा खुलासा नहुन्जेल मात्र उनीहरूले सेनामा जागिर खान पाउँथे।
– सन् २०१५- नेपालमा नयाँ संविधान
नेपालमा आजकै दिन गणतान्त्रिक नयाँ संविधान घोषणा गरिएको थियो। तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले नयाँ संविधानमा हस्ताक्षर गरेर लागू गराएका थिए। नेपाली मिति बिक्रम संवतमा भने त्यस दिन ३ असोज परेको थियो।
– सन् २०१७- हुरिकेन मारियाले लियो ३ हजारको ज्यान
हुरिकेन मारियाले आजकै दिन क्यारेबियन द्विप पोर्टो रिकोमा ३ हजार जनाको ज्यान लिएको थियो। त्यसका कारण ९० अर्ब डलर बराबरको क्षति भएको अनुमान छ।
– सन् २०१८- डुंगा दुर्घटनामा मारिए २०७
सन् २०१८ मा आजकै दिन तान्जानियामा ओभरलोडेड डुंगा डुब्दा त्यसमा सवार २०७ जनाले ज्यान गुमाएका थिए। भिक्टोरिया नामक तालमा उक्त डुंगा डुबेको थियो। घटनामा एकजना मात्र बाँचेका थिए।
– सन् २०२१- कोभिडविरुद्ध सुरक्षित खोप बनाएको फाइजरको घोषणा
सन् २०२१ मा आजकै दिन अमेरिकी बहुराष्ट्रीय औषधि कम्पनी फाइजरले कोभिड-१९ महामारीविरुद्ध सुरक्षित खोप तयार पारेको घोषणा गरेको थियो। उक्त खोप ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकामा एक तिहाइ सफल देखिएको फाइजरले बताएको थियो।
– सन् २०२३- ४ लाख ७२ हजार भेनेजुएलीले पाए काम
सन् २०२३ मा आजकै दिन अमेरिकाले आफ्नो मुलुकमा आएका भेनेजुएलाका ४ लाख ७२ हजार शरणार्थीलाई काम गर्न दिने घोषणा गरेको थियो। अमेरिकी गृह प्रशासनले उक्त घोषणा गरेको थियो।
– सन् २०२३- ५ लाख वर्षअघि नै काठको घरमा बस्थे मानिस
सन् २०२३ मा आजकै दिन वैज्ञानिकहरूले ५ लाख वर्षअघि नै मानिसहरू काठको घरमा बस्ने गरेको तथ्य सार्वजनिक गरेका थिए। दक्षिण अफ्रिकी मुलुक जाम्बियाको कलम्बो फल्स नजिक भेटिएको काठको अवशेषबाट उक्त तथ्य खुलेको थियो। यसअघि ९ हजार वर्षअघि मानिसले बनाएको काठको घर मात्र फेला परेको थियो।
– सन् २०२३- ४ लाख ७२ हजार भेनेजुएलीले पाए काम
सन् २०२३ मा आजकै दिन अमेरिकाले आफ्नो मुलुकमा आएका भेनेजुएलाका ४ लाख ७२ हजार शरणार्थीलाई काम गर्न दिने घोषणा गरेको थियो। अमेरिकी गृह प्रशासनले उक्त घोषणा गरेको थियो।
– सन् २०२४- इजरायलद्वारा निहत्था बेरुतवासीको हत्यामा निरन्तरता
सन् २०२४ मा आजकै दिन बेरुतमा आक्रमण गरी निहत्था सर्वसाधारणको पनि हत्या गरेपछि विश्वव्यापी आलोचना भएको थियो। हवाई आक्रमणमा मारिएका ३७ जनामध्ये अधिकांश सर्वसाधारण थिए।