काठमाडौँ- नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीको संयुक्त टोलीले त्रिशूली ‘थ्रि–ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेकाको उद्धारका लागि ‘ड्रिलिङ’ सुरु गरेको छ ।
Advertisement
सुरुङको बाहिरी भाग पत्ता लगाउने उद्देश्यले ‘ड्रिलिङ’ सुरु गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
यही भदौ १० गते आएको बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारका लागि शुक्रबारदेखि सुरक्षाकर्मीको संयुक्त टोली प्रभावित क्षेत्रमा परिचालित छ । उक्त क्षेत्रमा ६२ सैनिकसहित सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीका ८२ सुरक्षाकर्मी खटिएका निर्देशनालयले जनाएको छ ।
प्रभावित जिल्लामा करिब सात हजारभन्दा बढी सैनिक परिचालन गरी घाइतेको खोज तथा उद्धार, आपत्कालीन उपचार, राहत सामग्री वितरण तथा शव व्यवस्थापनको काम भइरहेको सेनाले जनाएको छ ।