काठमाडौं- आज २५ मे। विश्व इतिहासका असंख्य घटनाले आजको दिनलाई स्मरण गराउँछन्। प्रस्तुत छ, आजको दिन भएका केही विश्व चर्चित घटनाको सारसंक्षेप।
– सन् १९६३- श्वेतहरूको शासनविरुद्ध ३२ अफ्रिकी मुलुकको गठबन्धन
सन् १९६३ मा आजकै दिन अंग्रेजहरूको विभेदकारी श्वेत शासनविरुद्ध अफ्रिका महादेशका ३२ वटा मुलुकले गठबन्धन खडा गरेका थिए। अफ्रिकी एकता संगठन (ओएयू)को स्थापनाको उद्देश्य अफ्रिकामा उपनिवेशवाद अन्त्य तथा श्वेत अल्पसंखयक सरकारहरूलाई समाप्त गर्नु थियो। ओएयू नै सन् २००२ मा अफ्रिकम युनियनमा परिणत भएको थियो।
– सन् १९७९- अमेरिकन एयरलाइन्स दुर्घटनामा २५८ को मृत्यु
सन् १९७९ मा आजकै दिन अमेरिकन एयरलाइन्सको डीसी-१० विमान दुर्घटनामा त्यसमा सवार सबै २५८ जनाको ज्यान गएको थियो। सिकागोस्थित ओहारे अन्तर्राष्ट्रीय विमानस्थलबाट उडान भरेको केहीबेरमै उक्त विमान दुर्घटनामा परेको थियो।
– सन् २००२- चीनको जम्बोजेट दुर्घटनामा २२५ मारिए
सन् २००२ मा आजकै दिन चाइना एयरलाइन्सको जम्बोजेट दुर्घटनामा त्यसमा सवार सबै २२५ जनाको ज्यान गएको थियो। बोइङ-७४७ विमान ताइवान स्ट्रेटको मध्यभागमा खसेको थियो। २२ वर्षअघि गरिएको विमानको अनुचित मर्मतका कारण दुर्घटना भएको निष्कर्ष अनुसन्धानबाट निस्केको थियो। बोइङले बनाएको नियमभन्दा धेरै बढी उक्त विमान उडेको पनि खुलेको थियो।
– सन् २०१२- सिरियामा नरसंहार
सन् २०१२ मा आजकै दिन सिरियाको होम्स प्रान्तस्थित हौला भन्ने स्थानमा सरकारी सेनाको आक्रमणमा ११६ जनाको ज्यान गएको थियो। मारिनेमा महिला र बालबालिकाको संख्या ठूलो. थियो।
– सन् २०२०- जर्ज फ्लोइडको विश्व चर्चित हत्या
सन् २०२० मा आजकै दिन अमेरिकामा अश्वेत जातिका युवक जर्ज फ्लोइडलाई स्थानीय प्रहरी अधिकारीले घाँटी थिचेर हत्या गरेका थिए। मिनियापोलिसस्थित सडकमा नियन्त्रणमा लिएर प्रहरी अधिकृत डेरेक चौभिनले ९ मिनट ४६ सेकेन्डसम्म घुँडाले फ्लोइडको घाँटी थिचेका थिए। उनको घटनास्थलर्मै ज्यान गएको थियो। त्यसविरुद्ध अमेरिकाभर प्रदर्शन भएको थियो भने तत्कालीन डोनाल्ड ट्रम्प प्रशासनको कृत्यको विश्वव्यापी आलोचना भएको थियो।
– सन् २०२२- युक्रेनमा रुसको नरसंहार
सन् २०२२ मा आजकै दिन युक्रेनका सिभिरोडोनेत्स्क र लिसाचान्स्कमा आक्रमण गरी रुसले नरसंहार मच्चाएको थियो। त्यसमा परी १५० जना युक्रेनी नागरिकको ज्यान गएको थियो।
– सन् २०२४- तुफानबाट २६ मारिए
सन् २०२४ मा अमेरिकाका टेक्सास, ओक्लाहोमा, अर्कान्सस, मिसौरी, केन्टुकी र अलाबामामा आएको भयंकर तुफानमा परी २६ जनाको ज्यान गएको थियो। तुफानका क्रममा चलेको तीव्र गतिको हावाले ठूलो क्षति गरेको थियो।