काठमाडौँ । फिलिपिन्समा पूर्व राष्ट्रपतिका छोरा राष्ट्रपतिमा र वर्तमान राष्ट्रपतिकी छोरी उपराष्ट्रपतिमा निर्वाचित भएका छन् ।
कठोर शासकका रुपमा चिनिएका पूर्व राष्ट्रपति फर्डिनान्ड मार्कोसका छोरा फर्डिनान्ड मार्कोस जुनियर राष्ट्रपतिमा र वर्तमान राष्ट्रपति रोड्रिगो डुटेर्टेकी छोरी सारा उपराष्ट्रपतिमा निर्वाचित भएका हुन् ।
पूर्व राष्ट्रपति मार्कोस र वर्तमान राष्ट्रपति डुटेर्टेले तालमेल गरेर निर्वाचनमा उम्मेदवारहरू उठाएका थिए । दुई प्रभावशाली राजनीतिक नेताहरूको तालमेलका कारण उनीहरू दुवै उम्मेदवार अत्यधिक मतान्तरका साथ मंगलबार विजयी भएका हुन् ।
राष्ट्रपतिका उम्मेदवार मार्कोस जुनियरले कूल मतको ५६ प्रतिशत मत पाएका थिए । यो संख्या आफ्नो प्रमुख प्रतिस्पर्धीको भन्दा दोब्बर भएको निर्वाचन आयोगले जनाएको छ ।
उनका निकटतम प्रतिस्पर्धीका रुपमा उदारवादी पक्षधर एवं वर्तमान उपराष्ट्रपति लेनी रोब्रेडो चुनावी मैदानमा थिए ।
नवनिर्वाचित राष्ट्रपति मार्कोस जुनियरले एक करोड ६० लाखभन्दा बढी मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।
राष्ट्रपतिसहित देशभरबाट झण्डै १८ हजार प्रतिनिधि चयनका लागि सोमबार देशभरि मतदान भएको थियो । त्यसअन्तर्गत एक–एक जना राष्ट्र्पति र उपराष्ट्रपति, १२ जना सिनेटर, तीन सयभन्दा बढी संसदका प्रतिनिधि र १७ सयभन्दा बढी स्थानीय प्रतिनिधिहरू रहेका छन् ।
मतदानका लागि देशभरि ३७ हजार २११ मतदान केन्द्र तय गरिएको निर्वाचन आयोगले जनाएको छ । नवनिर्वाचित राष्ट्रपति मार्कोसले गरिबी घटाउनेदेखि कमजोर लोकतन्त्रलाई बलियो बनाउने सम्मका प्रतिबद्धता जनाएका थिए ।
फिलिपिन्सको राष्ट्रपति बन्नका लागि आठ जनाले उम्मेदवारी दिएका थिए । निर्वाचनको सुरक्षाका लागि ४५ हजार सैनिक र ६० हजार प्रहरी परिचालन गरिएको थियो ।