काठमाडौँ । आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि भारतसँग विवादित क्षेत्र कालापानी नजिकैको छाङ्गरु र तिंकरमा मतपत्र पुगेको छ ।
तर, तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भूभागका रुपमा नेपाली नक्सामा समेटेको कालापानी, लिपुलेक र लिम्पियाधुरामा निर्वाचनबारे कुनै चहलपहल हुन सकेको छैन ।
दार्चुलाको उत्तरी क्षेत्रमा पर्ने व्याँस गाउँपालिकाको छाङ्गरु र तिंकरमा भने हेलिकप्टरमार्फत निर्वाचन सामग्री ढुवानी पुर्याइएको छ । गाउँपालिकाको १ नम्बर वडाको छाङ्गरु र तिंकरका मतदान केन्द्रमा सेनाको हेलिकप्टरमार्फत निर्वाचन सामग्री ढुवानी पुर्याइएको हो ।
उक्त क्षेत्रमा नेपाली भूमिबाट जाने बाटो बन्न नसकेपछि हेलिकप्टरमार्फत निर्वाचन सामग्री ढुवानी गरिएको हो । साथै, कर्मचारी र सुरक्षाकर्मीसमेत लगिएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए ।
निर्वाचन नजिकिएसँगै सोमबार बिहान सेनाको हेलिकप्टरमार्फत उक्त मतदान केन्द्रमा मतपत्र, मतदाता परिचय पत्रलगायत सामग्री लगिएको हो ।
निर्वाचन आयोगका अनुसार छाङ्गरुको कैलाशपति आधारभूत विद्यालय केन्द्रमा ३७५ र तिंकरको आधारभूत विद्यालय मोती महिला संघ केन्द्रमा २३१ मतदाता छन् ।