काठमाडौँ । सत्ता गठबन्धनले धादिङका १३ मध्ये १२ स्थानीय तहमा भागबण्डा गरेका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले जिल्लामा चुनावी तालमेलमा सहमति जुटाउन नसकेपछि प्रदेश कमिटीका नेताहरुले भागबण्डा गरेका थिए ।
जनता समाजवादी पार्टी (जसपा)लाई बाहिरै राखेर गरिएको सहमतिअनुसार कांग्रेसले ७, माओवादी केन्द्रले ३ र नेकपा एसले ३ स्थानीय तहको नेतृत्व लिने भएको छ । तर, थाक्रे गाउँपालिकामा सहमति जुट्न सकेको छैन ।
सहमतिअनुसार नीलकण्ठ नगरपालिका, खनियाबास, सिद्धलेक, गंगाजमुना, ज्वालामुखी, त्रिपुरासुन्दरी र नेत्रावती डबजोङ गाउँपालिकाको नेतृत्व नेपाली कांग्रेसको भागमा परेको छ । कांग्रेसले धुनिबेसी, रुबीभ्याली, गल्छी र गजुरीमा उपप्रमुख लिएको छ ।
यस्तै, रुबीभ्याली, गजुरी र बेनीघाट रोराङ गाउँपालिकाको नेतृत्व माअोवादी केन्द्रले पाएको छ । यसैगरी, नीलकण्ठ नगरपालिका, खनियाबास, त्रिपुरासुन्दरी र नेत्रावती गाउँपालिकाको उपप्रमुख पनि पाएको छ ।
एकीकृत समाजवादीले धुँनीबेसी नगरपालिका र गल्छी गाउँपालिकाको प्रमुखसहित बेनीघाट रोराङ, ज्वालामुखी, गंगाजमुना र सिद्धलेक गाउँपालिकाको उपप्रमुख पाएको छ ।