ठीक ११० वर्ष पहिले, टाइटानिक अँध्यारो रातमा विशाल तैरिरहेको हिउँको ढिस्को (आइसबर्ग)सँग ठोक्किएको थियो। त्यतिबेला जहाजमा सवार अधिकांश यात्रु सुतिरहेका थिए ।
दुर्घटना हुँदा उक्त पानीजहाज इंग्ल्यान्डको साउथ ह्याम्प्टनबाट ४१ किलोमिटर प्रतिघण्टाको गतिमा अमेरिकाको न्यूयोर्कतर्फ गइरहेको थियो । आइसबर्गमा ठक्कर खाएको तीन घण्टाभित्रै सन् १९१२ को १४ अप्रिल र १५ अप्रिलको मध्यरातमा टाइटानिक एटलान्टिक महासागरमा डुबेको थियो ।
कहिल्यै डुब्दैन भनिएको जहाज आइसबर्गमा डुबेर समुद्रको गर्भमा पुग्यो । दुर्घटनामा करिब १५ सयजनाको मृत्यु भयो । दुर्घटनाको ११० वर्षपछि पनि यो समुद्री यात्राको इतिहासमा सबैभन्दा ठूलो दुर्घटना मानिन्छ ।
सेप्टेम्बर १९८५ मा दुर्घटनास्थलबाट जहाजका अवशेष हटाइएको थियो। दुर्घटनापछि क्यानाडाबाट ६५० किलोमिटर टाढा तीन हजार ८४३ मिटरको गहिराइमा जहाज दुई टुक्रामा दबेको थियो। र, दुई भाग एकअर्काबाट ८०० मिटर टाढा पाइएको थिए।
यो दुर्घटना भएको ११० वर्ष बितिसक्दा पनि त्यसबारेमा अझै केही रहस्य कायमै छन्। जसबारे बीबीसीले केही विज्ञसँग कुरा गरेर ती रहस्यको जवाफ खोज्ने प्रयास गरेको छ ।
(१) डुब्न सक्दैन भनिएको जहाज कसरी डुब्यो ?
यो विशाल जहाज डुब्न सक्दैन, यहाँसम्म कि भगवानले पनि यसलाई डुबाउन सक्दैनन् भन्ने भनाइ प्रचलित थियो। यस विश्वास पछाडि केही कारणहरू पनि थिए।
‘इन्जिनियरिङका हिसाबले यो वाटरटाइट कम्पार्टमेन्टयुक्त डिजाइनका आधारमाा विकसित गरिएको पहिलो जहाज थियो। जहाजमा रहेका धेरै वाटरटाइट कम्पार्टमेन्ट यसरी बनाइएका थिए, जुन जहाजका अन्य कोठा पानीले भरिँदा पनि नडुब्ने विश्वास थियो,’ फेडरल युनिभर्सिटी अफ रियो दि जेनेरियोको नौसेना र महासागर इन्जिनियरिङ विभागका प्रोफेसर र इन्जिनियर अलेक्जेन्डर डे पिन्हो अल्होले भने ।
जहाजको निर्माण तयारीका क्रममा केही कठिनाइहरू भए । जस्तो- जहाजको विद्युतीय तार र पानीका बाइपले राम्ररी काम गर्ने हिसाबमा कुल उचाइ कति राख्ने भन्नेबारेमा धेरै सोचाइविचार भएको थियो ।
प्रोफेसर अल्होका अनुसार डिजाइनरले धेरै सोचविचारपछि बाढीको पानी छानाको उचाइसम्म नपुग्ने मूल्यांकन गरेर जहाजको तत्कालीन उचाइ निर्धारण गरेका थिए । उनीहरूले छतमा सुरक्षित डिब्बाहरू पनि बनाएका थिए ।
तर, जहाज निर्माणमा संलग्न डिजाइनरले अरू सबै कुरा सोच्दा आइसबर्गसँग ठूलो टक्कर हुने कसैले सोच्न सकेनन्।
प्रोफेसर अल्होका अनुसार आइसबर्गको टक्करले यति ठूलो प्रभाव थियो कि जहाजको मुख्य बडीको आधा लम्बाइसम्म प्वाल परेको थियो। यस्तो अवस्थामा पानी छतसम्म पुग्यो।
‘परिणामस्वरूप जहाज पूरै पानीले भरिएको थियो, यस्तो अवस्थामा उद्धार सम्भव हुँदैन । पानी हटाउन सबै पम्प सक्रिय गर्दा पनि बाहिरबाट आउने पानी बेग उच्च हुँदा पानी भरिन रोकिएन,’ अल्होले बताए।
जहाज निर्माताले टाइटानिकको प्रचार कहिल्यै नडुब्ने जहाजको रूपमा गरेका थिए । किनभने धेरै कोठाको भित्ता पानी नछिर्ने हिसाबले बनाइएको थियो। तर, आइसबर्गमा जोडले ठक्कर खाँदा जहाजका वाटरटाइट कम्पार्टमेन्टका भित्ताहरू पनि भत्किन पुगे।
फ्लुमिनेन्स फेडरल युनिभर्सिटीका प्रोफेसर र यातायात इन्जिनियर ओरिलो सोरास मुर्ताका अनुसार आइसबर्गको टक्करपछि टाइटानिकको पानी नछिर्ने कम्पार्टमेन्टहरू बन्द गर्ने प्रणाली पनि राम्रोसँग काम गरिरहेको थिएन।
त्यतिबेला जहाज बनाउन प्रयोग हुने धातु अहिलेको स्टिलजस्तो बलियो हुँदैनथ्यो । सोरास मुर्ताका अनुसार आइसबर्गसँगको ठूलो टक्करपछि जहाजको संरचना पनि परिवर्तन भएको थियो। ढोका बन्द भइरहेका थिए, ती अड्किएका थिए। हुन त, त्यतिबेला टाइटानिकको निर्माणमा शुद्ध स्टिल प्रयोग भएको थियो तर त्यो आज प्रयोगमा आउने स्टिलजस्तो बलियो थिएन।
साओ पाउलोको म्याकेन्जी पेर्सेबिटेरियन विश्वविद्यालयका प्राध्यापक र धातु विज्ञानका इन्जिनियर जोन बैताबुकका अनुसार सन् १९४० को दशकसम्म जहाजको मुख्य भाग धातुको पाताले बन्थे। सन् ४० को दशकपछि मात्रै जहाजहरूको मुख्य भाग बनाउनका लागि धातुहरूलाई पगाल्न थालियो।
‘त्यसबेलादेखि अहिलेसम्म प्रविधि र सामग्रीमा धेरै परिवर्तन भइसकेको छ। अहिले धातु पगालेपछि मात्र पाता जोडिन्छ। स्टिल निर्माणमा कार्बनको प्रयोग पनि घट्दै गएको छ र म्याग्निजको प्रयोग पनि बढ्न थालेको छ। यी परिवर्तपछि स्टिल धेरै बलियो बनेको छ,’ बैतबुकले भने।
उनका अनुसार विभिन्न परिवर्तनपछि आजका जहाजहरू पानी, समुद्री छाल र आँधीको उतारचढावसँग तालमेल मिलाउन धेरै सक्षम भएका छन्।
(२) ‘ब्लु ब्यान्ड’ हासिल गर्ने प्रतिस्पर्धाले निम्त्याएको दुर्घटना
ठूला दुर्घटनाको कारणमा मानवीय गल्ती जिम्मेवार पाइन्छ । विज्ञहरूका अनुसार आइसबर्गले भरिपूर्ण क्षेत्रमा यात्रा गर्न कठिनाइ हुँदाहुँदै पनि छिटो यात्रा पूरा गर्न निकै दबाब थियो ।
वास्तवमा जहाजहरूलाई ‘ब्लू ब्यान्ड’ पाउने दबाब सधैं हुन्थ्यो। सन् १८३९ मा शुरु भएको यो सम्मान एट्लान्टिक महासागर पार गर्ने सबैभन्दा छिटो जहाजलाई दिइन्थ्यो । टाइटानिकलाई यो सम्मानको सबैभन्दा बलियो दाबेदार मानिएको थियो।
टाइटानिकको निर्माणमा त्यो समयका उत्कृष्ट इन्जिनियरिङ र प्रविधिको प्रयोग गरिएको थियो। त्यसबेला संसारका ठूला कम्पनीहरूबीच जहाज बनाउन प्रतिस्पर्धा थियो। इङ्ल्यान्ड र जर्मनीबीच सबैभन्दा लामो र छिटो जहाज निर्माण गर्ने निक्कै कठोर प्रतिस्पर्धा थियो।
सबैभन्दा ठूलो र छिटो जहाजले आधिकारिक रूपमा नीलो ब्यान्ड प्राप्त गर्थे । यो उपाधि हासिल गर्नका लगि जहाजको पहिलो यात्रा सबैभन्दा महत्त्वपूर्ण मानिएको थियो।
प्राध्यापक अल्होका अनुसार पहिलो यात्रामा जहाजको स्थिति सबैभन्दा उत्कृष्ट हुन्छ। जहाज उसले पहिलो यात्रामा सबैभन्दा छिटो पुग्न सक्छ, त्यसैले दुर्घटना हुँदाको समय टाइटानिकले पनि गति बढाउने प्रयास गरेको थियो।
दुर्घटनामा बाँचेका धेरैले बताएअनुसार जहाजका कप्तानलाई बाटोमा वरपरको आइसबर्गबारे जानकारी दिइएको थियो, तर चेतावनीका बावजुद तिनले जहाजको गतिलाई सुस्त गरेनन्। किनभने उनीहरू एट्लान्टिक महासागर सबैभन्दा छिटो पार गर्ने लक्ष्य हासिल गर्ने धुनमा थिए ।
(३) टाइटानिकसँगै बनेका थिए अरू पनि दुई जहाज
टाइटानिक जहाज सञ्चालन गर्ने ह्वाइट स्टार लाइन कम्पनीले २० औं शताब्दीको प्रारम्भमा बेलफास्ट शहरको हार्ल्यान्ड र वोल्फ सिपयार्डमा तीनवटा जहाज निर्माण गर्न आदेश दिएको थियो।
विश्वस्तरीय डिजाइन टोलीले बनाएका यी तीनवटा जहाज विश्वकै सबैभन्दा लामो, सुरक्षित र सुसज्जित हुने अपेक्षा गरिएको थियो। त्यतिबेला यी जहाज निर्माण परियोजनाको राम्रो प्रचार पनि भएको थियो ।
सन् १९०८ देखि १९१५ बीचमा निर्माण गरिएका यी जहाजहरूलाई ओलम्पिक श्रेणीको जहाज भनिन्थ्यो। सन् १९०८ मा ओलम्पिक नामको जहाज र १९०९ मा टाइटानिक जहाजको तयारीको काम शुरु भयो । तेस्रो जहाज जाइगेन्टिकाको उत्पादन सन् १९११ मा शुरु भयो।
त्यसबेला बनेका तीनवटै जहाज कुनै न कुनै प्रकाराको दुर्घटनामा परेका थिए । ओलम्पिक जहाजले जुन १९११ मा सेवा शुरु गरेको थियो, त्यही वर्ष यो युद्धपोतसँग ठोक्कियो। मर्मतपछि यसको सेवा सञ्चालनमा आयो ।
पहिलो विश्वयुद्धको समयमा ब्रिटिस नौसेनाले यसलाई सैनिकहरू ओसारपसारका लागि प्रयोग गर्यो । सन् १९१८ मा यो जर्मन पनडुब्बीसँग ठोक्कियो । मर्मतपछि सन् १९२० देखि यसको प्रयोग पुनः शुरु भयो। पुरानो र भरपर्दो मानिएको यो जहाज सन् १९३५ सम्म प्रयोग भएको थियो।
टाइटानिकले १० अप्रिल १९१२ मा आफ्नो पहिलो यात्रा गरेको थियो। पहिलो परीक्षण यात्रामा यो साउथ ह्याम्पटनको बन्दरगाह बाहिर अर्को जहाजसँग ठोक्किएको थियो । त्यसको चार दिनपछि १४ अप्रिलमा यो ऐतिहासिक दुर्घटनाको शिकार भयो ।
अर्को जहाज जाइगेन्टिक पनि धेरै प्रयोग भएको छैन। यसको नाम पछि ब्रिटानिकमा बदलियो । बेलायती नौसेनाले पहिलो विश्वयुद्धको समयमा यसलाई अस्पतालमा परिणत गरेको थियो। यो जहाज नोभेम्बर १९१६ मा डुबेको थियो ।
यी तीनवटा जहाज तिनको समयमा निकै ठूला भए पनि आजको जहाजको तुलनामा निकै साना हुन्।
‘आजको जहाजको अगाडि राख्दा ती तीन जहाज डुंगाजस्ता थिए,’ मुर्ताले भने । टाइटानिकको लम्बाइ २६९ मिटर थियो । चालक दल र यात्रुसहित यसमा लगभग ३३ सय मान्छे बस्नसक्ने सुविधा थियो।
आजको सबैभन्दा ठूलो समुद्री जहाज ‘वन्डर अफ द सी’ ३६२ मिटर लामो र दुई हजार ३०० चालक दलका सदस्य र सात हजार यात्री सवार हुनसक्छन् । अर्थात्, एकसाथ नौ हजार ३०० मानिस बोक्न सक्छ, यसले ।
(४) दुर्घटनामा मर्नेको संख्या यति धेरै हुनुको कारण के थियो?
टाइटानिक दुर्घटनामा करिब १५ सय जनाको ज्यान गएपछि समुद्री जहाजको सुरक्षा व्यवस्थामै सुधार गर्ने प्रयास शुरु भएको थियो । यो दुर्घटनापछि सामुद्रिक पानीजहाजको सुरक्षाका लागि राडारजस्ता उपकरणको प्रयोग शुरु गरिएको थियो ।
प्रोफेसर अल्होका अनुसार राडारको प्रयोग दोस्रो विश्वयुद्धपछि मात्रै शुरु भएको थियो। त्यसअघि सबै कुरा जहाजका चालकले आँखाले हेरेको कुरामा भर पर्थ्यो। जहाजमा एक नाविकलाई सबैभन्दा उचाइमा राखेर अगाडि आउने आइसबर्गबारे सचेत गराउने जिम्मेवारी हुन्थ्यो। तर, जहाजको गति उच्च भएको समयमा यो सुरक्षित तरिका थिएन।
टाइटानिक दुर्घटनामा धेरैको मृत्यु हुनुपछाडि जहाजमा सबै यात्रुका लागि लाइफबोट नहुनु प्रमुख कारण थियो। जहाज कहिल्यै डुब्दैन भन्ने विश्वास यति बलियो थियो कि दुर्घटना हुँदा यसमा लाइफबोटको संख्या यात्रुको संख्याभन्दा आधा मात्रै राखिएको थियो ।
‘जहाजको सुरक्षाका हिसाबले टाइटानिक दुर्घटना महत्त्वपूर्ण सबक सावित भयो। त्यसपछि जहाजको सुरक्षाका लागि संस्थागत ढाँचा बनाइयो। निर्माणका क्रममा सुरक्षा मापदण्डलाई ध्यानमा राखियो । यसलाई निरन्तर सुधार गर्ने योजना लागू गरियो,’ मुर्ताले भने ।
आजका जहाजमा जडान हुने राडार र सोनारले धेरै पहिले आइसबर्गहरू पत्ता लगाउँछन्। त्यसबाहेक समुद्र म्यापिङ वा यात्राको समयमा यात्रा चार्टहरू सबै अधिक परिष्कृत भएका छन्।
बीबीसीबाट