काठमाडौं– इजरायली आक्रमणमा गाजा पट्टीमा सञ्चालित एक टेलिभिजन स्टेशनका लागि काम गर्ने एक ‘क्यामेराम्यान’को मृत्यु भएको प्यालेष्टिनी इसलामिक लडाकू समूह (हमास)ले जनाएको छ।
कतारी प्रसारक अल जजिराले पनि इजरायली सेनाले आफ्नो एक पत्रकारलाई घाइते बनाएको आरोप लगाएको छ।
अल-अक्सा टिभीका ‘क्यामेराम्यान’ मोहम्मद अल-तानानीलाई बुधबार दिउँसो उत्तरी गाजा शहरस्थित अल-अहली अरब अस्पतालमा सहकर्मीले अन्त्येष्टि गरेको एएफपीका पत्रकारले जनाएका छन्।
हमासको प्रेस कार्यालयले एक विज्ञप्ति जारी गर्दै एक सञ्चारकर्मीको हत्यालाई ‘घृणित अपराध’ भनेको छ र इजरायली सेना ‘पूर्ण रूपमा जिम्मेवार’ रहेको बताएको छ।
यसैबीच अल जजिराले बुधबार आफ्ना एक क्यामेराम्यान फादी अल-वाहिदी उत्तरी गाजामा इजरायली गोली लागेर घाइते भएको र यसै साता इजरायली आक्रमणमा घाइते हुने अलजजिराका दोस्रो क्यामेराम्यान बनेको जनाएको छ।
त्यहाँ उपस्थित एएफपीका एक पत्रकारका अनुसार गाजा शहरको उत्तरमा रहेको जबालियामा इजरायली सेनाले यसअघि सर्वसाधारणलाई खाली गर्न भनेको क्षेत्रमा इजरायली कारबाहीको रिपोर्टिङ गर्ने क्रममा वाहिदीको घाँटीमा चोट लागेको थियो।
अल जजिराले एक्समा उनको अवस्था गम्भीर रहेको बताएको छ।
एएफपीले यी दुई घटनाबारे टिप्पणीका लागि गरेको अनुरोधमा इजरायली सेनाले तत्काल कुनै प्रतिक्रिया दिएको छैन।
इजरायली सेनाले अलजजिराका पत्रकारलाई हमास वा उसको सहयोगी इस्लामिक जिहादसँग सम्बन्ध रहेको आरोप लगाउँदै आएको छ।