काठमाडौँ । प्रधानमन्त्री इमरान खानको सरकारले विश्वासको मत गुमाएपछि पाकिस्तानको संसद्ले नयाँ प्रधानमन्त्री चयन गर्न अप्रिल ११ (सोमबार)का लागि मतदान गर्ने प्रक्रिया अगाडि बढाएको छ ।
सर्वोच्च अदालतले यसअघि विपक्षी प्रायोजित अविश्वास प्रस्तावलाई खारेज गर्ने उपसभामुखको निर्णयलाई बदर गरिदिएसँगै राष्ट्रिय सभामा उच्च राजनीतिक गतिरोधको अन्त्यका लागि इमरान खान सरकारलाई सत्ताबाट बहिर्गमित गरिएको छ ।
कूल ३४२ सदस्यीय सदनमा प्रस्तावको पक्षमा १७४ सदस्यले मतदान गरेका थिए । मतदानका क्रममा सत्तारुढ पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई)का सदस्यहरू उपस्थित थिएनन् ।
राष्ट्रिय सभाका अध्यक्ष अयाज सादिकलाई उदृत गर्दै डन अखबारले नयाँ प्रधानमन्त्रीका लागि आज (आइतबार) दिउँसो २ बजेसम्म मनोनयन पत्र पेस गर्न सकिने र दिउँसो ३ बजेसम्म छानबिन हुने बताएको छ ।
उनले सोमबार बिहान ११ बजे अधिवेशन आह्वान गर्दै त्यसपछि नयाँ प्रधानमन्त्री चयन गरिने बताए । पाकिस्तान मुस्लिम लिग–नवाज (पीएमएल–एन)का अध्यक्ष शेहबाज शरीफ, जो हाल नेशनल एसेम्बलीमा विपक्षी नेता छन् आगामी प्रधानमन्त्री बन्ने निश्चित छ ।