राष्ट्रपति जो बाइडेनले अमेरिकाको रणनीतिक तेल भण्डार खुला गर्ने कदमलाई विश्वका दुई ठूला तेल उत्पादक मित्रले पछ्याएनन् । जब कि, अमेरिकाले बारम्बार साउदी अरेबिया र अन्य तेल उत्पादक मुलुकसँग उत्पादन बढाउन आग्रह गरिरहेको छ।
अमेरिकाले देशभित्र बढिरहेको महँगी नियन्त्रण गर्न तेलको बढ्दो मूल्यलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ। यसमा उसले साउदी अरब र यूएईको पनि साथ खोज्दा तिनले वास्ता गरेनन्।
ठूला तेल उत्पादक मुलुकहरूको समूह ‘ओपेक’ले पहिलदेखि आफ्ना सदस्य देशले उत्पादन गर्ने तेलको परिमाण (कोटा) लागू गरेको छ। कोटा लगाउँदा तेल मूल्य उच्च रहन्छ। ओपेकको निर्णयलाई समूहको सबैभन्दा प्रभावशाली मुलुक साउदी अरबले प्रभावित बनाउन सक्छ। तर, ऊ तेल उत्पादन नबढाउने अडानमा टिकिरहेको छ। यसमा यूएईलगायत अन्य ओपेक सदस्य साउदी अरबलाई साथ दिइरहेका छन्।
पाँच सातादेखि चलिरहेको युक्रेन युद्धले विश्वभर तनाव बढाइरहेको छ। युक्रेन युद्धका कारण परम्परागत सम्बन्धमा तनाव बढिरहेको स्थलमा मध्यपूर्व पनि एक हो। नयाँ स्थितिमा मध्यपूर्वको क्षेत्रीय व्यवस्था नै बदलिन सक्ने विज्ञहरू बताउन थालेका छन् । त्यस भेगमा रहेका अमेरिकाका सबैभन्दा ठूला मित्रशक्तिहरूले अहिले तिनको सम्बन्धको आधारमै प्रश्न उठाउन थालेको उच्च स्रोतले संकेत गरेका छन्।
उच्च स्रोतका अनुसार सम्बन्धमा कटुता यो हदसम्म पुगिसकेको छ कि साउदी र इमिरेट पक्षले बाइडेनको फोनसमेत उठाउन छाडेका छन्। युरोप तथा अमेरिकाले पुटिनको अर्थतन्त्रलाई कमजोर बनाउन प्रतिबन्धमाथि प्रतिबन्ध लगाइरहँदा रुसी सम्पति दुबईतर्फ स्थानान्तरण हुन थालेको छ। यसले पनि यूएई–अमेरिकासँगको सम्बन्धमा थप तनाव सिर्जना गरेको छ।
अरबी मुलुकको असन्तुष्टिका बावजुद अमेरिकाले तत्कालीन राष्ट्रपति बाराक ओबामा शासनमै कार्यान्वयनमा आएर ट्रम्प शासनमा खारेज भएको इरानसँगको आणविक सम्झौता ब्युँताउन लागेको छ। यो पृष्ठभूमि उल्लेख गर्दै साउदी अरबको चर्चित टेलिभिजन अल–अरेबियाका पूर्वसम्पादक मोहम्मद अल–यायाले इजरायली पत्रिका ‘द जेरुसेलम पोस्ट’मा लेख लेख्दै साउदी असन्तुष्टिलाई अभिव्यक्त गरेका छन्।
‘साउदी–अमेरिका सम्बन्ध अहिले गम्भीर संकटबाट गुज्रिरहेको छ। ओबामाले इरानसँग आणविक सम्झौताको छलफल गरिरहँदा नै साउदी अरबमा त्यसलाई ७० वर्ष लामो विवाह टुटाउने प्रयासको रूपमा हेरिएको थियो,’ मोहम्मदले लखेका छन्।
सोही लेखमा उनले वासिङ्टनले अहिले रुसको विस्तार रोक्न अरबी मुलुकको सहयोग मागेको तर विगतमा अमेरिकाले नै मध्यपूर्वमा रुस र इरानको विस्तारलाई सघाएको आरोप लगाएका छन्। उनले अमेरिका र चीनको द्विपक्षीय सम्बन्धको भिन्नताबारे पनि चर्चा गरेका छन्। मोहम्मद लेख्छन्, ‘अमेरिकी नीतिमा धेरै विरोधभास छन्। त्यसविपरीत चिनियाँ नीति साधारण र सीधा छ। उनीहरू आफूलाई तेल दिएर चाहिएको हतियार लिन भनिरहेका छन्। र, बदलामा विश्व ऊर्जा बजारलाई स्थिर बनाउन हाम्रो सहयोग पनि चाहिरहेका छन्।’
बाइडेनको आगमनपछि साउदीसँग बिग्रिएको सम्बन्ध सुधार्न पछिल्लो समय मध्यपूर्वका लागि ह्वाइट हाउसका समन्वयकर्ता ब्रेट म्यागर्क लगातार रियाद पुगिरहेका छन्। बाइडेनले राष्ट्रपति पद सम्हालेपछि साउदी अरबका युवराज मोहम्मद विन सलमानसँग कुराकानी गर्न अस्वीकार गरेका थिए। रियाद र अबुधावीलाई अमेरिकाले पछिल्लो समय मित्रताभन्दा पनि विचारधारालाई महत्त्व दिएको आरोप लाग्न थालेको छ। बाइडेन सत्तामा आएदेखि यूएई र साउदी अरबले यमनमा चलाइरहेको युद्धमा सहयोग गर्न आनाकानी गरिरहेका छन्।
यूएईका परिचित राजनीतिक विज्ञ अब्दुल खलिक अब्दुल्लाले वासिङ्टनसँगको सम्बन्ध ५० वर्षयताकै खराब स्थितिमा पुगेको बताए। उनका अनुसार पछिल्लो समय अमेरिकाले ओपेक सम्झौताअनुसार नमिल्ने गरी यूएईमाथि तेलको उत्पादन बढाउन दबाब दिएको, बसर अल–असादको भ्रमणको विरोध गरेको, एफ-३५ विमानको खरिदलाई बेवास्ता गरेको छ। र, त्यो सबै त्यस समयमा भएको छ, जब विश्वको महाशक्ति अमेरिका मात्र रहेन। जसले गर्दा यूएई र अन्य मुलुकलाई आफ्नो साझेदारहरूमा विविधीकरण गर्ने बाध्यता आउनेछ,’ अब्दुल्लाले बताए।
द गार्जियनबाट