काठमाडौं- काठमाडौं उपत्यका त्यसै पनि कचौरो आकारको छ । यहाँ वायुको आफ्नै प्राकृतिक चक्र छ । त्यो चक्र भनेको दक्षिणबाट प्रवेश गर्ने र उपत्यकामै सिर्जित वायु प्रदूषणलाई उत्तरतर्फबाट आउने र उपत्यकामै हावा तातो भएर माथि जाने वायुले धकेलेर पूर्वतर्फ पठाउनुपर्छ । तर, जब यो प्राकृतिक चक्र अवरुद्ध हुन्छ, काठमाडौं पनि विश्वको प्रदूषित शहरको सूचीमा चढ्दै जान्छ । अहिले भएको त्यही हो ।
केही दिनयता काठमाडौंको वायुमण्डलमा बाक्लो तुवाँलो देखिएको छ। वायु प्रदूषणका कारण मानिसहरूमा श्वासप्रश्वाससम्बन्धी स्वास्थ्य समस्यासमेत देखिन थालेको छ। यो सामग्री तयार गर्दैगर्दा विश्वको वायु प्रदूषण मापन गर्ने ‘आईक्यूएयर’को तथ्यांकमा काठमाडौं विश्वकै चौथो प्रदूषित शहर बनेको छ।
‘यो वायु प्रदूषण बढ्ने मौसम हो,’ वरिष्ठ मौसमविद् ऋषिराम शर्मा भन्छन्, ‘काठमाडौं उपत्यका कचौरो आकारको छ। यसको बनावटले पनि वायु प्रदूषण बढाउँछ। यससँगै वायुमण्डलमा तुवाँलो देखिनुको कारण सवारी साधनले फाल्ने धुवाँ, धुलो र डढेलो पनि मुख्य कारण हुन्। वायुमण्डलमा बादलसँगै प्रदूषण पनि मिसिएकोले अहिलेको अवस्था देखिएको हो।’
उनका अनुसार वायुमण्डलीय प्रक्रियामा जमिनको तल्लो सतहमा हावा चल्नुपर्छ। बादल र तुवाँलोको कारण हावा चल्न पाएको छैन। बादल जमेकाले घाम लाग्न पाएन, तुवाँलो पनि थपिएपछि हावा चलायमान हुन पाएन। वायुमण्डलको तल्लो तहमा हावा चलायमान हुन पाएको भए घाम लाग्थ्यो। हावा चल्नका लागि जमिन तात्नुपर्छ, केही दिनदेखि जमिन तात्न नपाउँदा हावा लाग्न पाएको छैन, जसकारण वायुमण्डल तुवाँलोले ढाकिएको छ।
विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार संसारमा प्रत्येक १० मध्ये एकजनाको मृत्यु वातावरण प्रदूषणबाट हुने गरेको छातीरोेग विशेषज्ञ डा.निरज बम बताउँछन्।
उनका अनुसार विश्वमा वातावरण प्रदूषण सन् २०२० देखि २०३० सम्म बढ्ने सम्भावना देखिएको छ। वातावरण प्रदूषण धेरै प्रकारले हुन सक्छन्। खोलाबाट निस्कने विभिन्न पदार्थ, धुम्रपान तथा सुर्तिजन्य पदार्थ, ढल मिसिएको फोहोर, कलकारखानाबाट निस्किएको धुवाँको मूस्लो आदिले प्रदूषणको लेभल बढाउँछन्।
अहिले तुवाँलो हट्नका लागि हावा लाग्नु आवश्यक रहेको मौसमविद् शर्मा बताउँछन्। भन्छन्, ‘प्रदूषण कम गर्न वर्षात् हुनु पनि जरुरी छ। पानी परेपछि आकाश खुल्छ। १-२ दिनमा हल्का पानी पर्ने अनुमान गरिएको छ। पानी परेपछि तुवाँलो केही हदसम्म हट्न मद्दत पुग्छ। अर्कोतर्फ, प्रचण्ड गर्मी बढेपछि जमिन तात्छ। जमिन तातेपछि हावा तातो हुँदै माथि जान्छ। यसले पनि वायुमण्डलीय प्रदूषणलाई कम गर्छ।’
मौसमविद्हरूका अनुसार लामो समय वर्षात् नभएकाले धुलोका कण जमिनमा मिल्न पाएनन्। त्यसमाथि वायु मण्डललाई बादलले छेक्यो र चिसो बढ्यो, जसका कारण उपत्यकाको नियमित वायु चक्र अवरुद्ध बन्यो। उपत्यकाको वायु चक्रअनुसार अपराह्नतिर धादिङ सीमाको मुड्कु भञ्ज्याङतर्फबाट उपत्यकामा तातो हावा प्रवेश गर्छ। यस्तै, चोभारको गल्छीबाट तराईको तातो हावा भित्रिन्छ। दुवैतिरबाट भित्रिएको हावा ग्वार्को आसपासको वायु मण्डलमा भेट हुन्छन्। र, उपत्यकाको तातो हावासहित पूर्वको साँगा भञ्ज्याङ हुँदै बाहिरिन्छिन्। उपत्यकाको तातो हावामा यहाँ जम्मा भएका प्रदूषित कण पनि मिसिएका हुन्छन्। र, साँझपख उपत्यकाको वातावरण केही हदसम्म स्वस्थ हुन्छ।
उपत्यकामा जाडोयाममा दिउँसो दुईदेखि तीन बजेबीचमा बढी न्यानो हुन्छ। र, त्यही समयमा हो, उपत्यकाको वायु चक्र चलायमान हुने पनि। अहिले २-३ दिनयता घाम नलागेकाले अपराह्नतिर चिसो नै छ। र, तातो हावासहित वायु मण्डलमा पुग्नुपर्ने धुलोका कण सतहमै थुप्रिएका छन्। २-३ बजेभित्र उपत्यकामा गर्मी भएन भने नियमित वायु चक्र अवरुद्ध हुने जानकारहरू बताउँछन्। बिहानीपख उपत्यकामा अत्यधिक चिसो हुन्छ। अघिल्लो दिन बाहिरिन नपाएका प्रदूषित कण चारदेखि सात फिट उचाइमा झरेर थुप्रिन्छन्। अहिले पनि पश्चिम र दक्षिणबाट तातो हावा काठमाडौं प्रवेश गरिरहेकै छ। तर, उपत्यकामा गर्मी भएर वायु मण्डलमा पुग्नुपर्ने प्रदूषित कण घाम नलागेकाले सतहमै घुमिरहेका छन्। सोही कारण केही दिनयता यो प्राकृतिक चक्र लयमा छैन।