एमाले अध्यक्ष केपी ओलीले आफ्नो कार्यकालमा बनेका सडकमा अहिलेको गठबन्धन सरकारले मोटर गुडाइरहेको दाबी गरेका छन्।
भक्तपुरमा बुधबार आयोजित कार्यक्रममा ओलीले यस्तो दाबी गरेका हुन्। वर्तमान सरकारले आफ्नो कार्यकालमा बनेका विकास संरचनाहरू उदघाटन गर्दै हिँडिरहेको उनको दाबी थियो।
‘अहिलेको सरकारले सरकारले कुनै काम गरेको छैन। हाम्रो कार्यकालमा भएका कामहरू उदघाटन गर्दै हिँडिरहेका छन्,’ उनले भने, ‘बाटो हामीले बनायौं, मोटर उहाँहरूले चलाउनुभयो होला। त्यो कुन ठूलो कुरा हो र।’
अर्को प्रसंगमा ओलीले पालिका तहका निर्वाचनमा गठबन्धन सजिलो विषय नभएको बताए। र, सत्ता गठबन्धनमा रहेका दलहरू आ–आफ्नै स्वार्थमा तल्लीन रहेकाले पालिका निर्वाचनमा सहकार्य गर्न गाह्रो रहेको बताए। ‘गठबन्धन गर्छौं भनेका हुन्, गठबन्धन सजिलो छैन। लोभीपापीहरूको गठबन्धन कति गाह्रो होला आफैँ विचार गर्नूस्।’
एकै दिनमा गठबन्धनको उम्मेदवारी दर्ता सम्भव नरहेकाले दुई दिनको म्याद तोकिएको उनको दाबी थियो। र, गठबन्धनबिना एमालेसँग लड्न सजिलो नभएकैले चुनावी सहकार्यको कुरा गरिरहेको बताउँदै उनले गठबन्धन गरेर पनि एमालेसँग चुनाव लड्न सजिलो नभएको बुझ्न बाँकी रहेको दाबी गरे।