काठमाडौँ । अफगानिस्तानको आर्थिक स्थिति तालिवानले सत्ता हातमा लिनुअघि समेत राम्रो थिएन। अहिले अतिवादीहरूले हिंसात्मक सत्ता कब्जा गरेपछि सो देशको अर्थतन्त्र तहसनहस जस्तै भएको छ। कयौँ परिवारलाई सामान्य खानाको जोहो गर्न कठिनाई भोग्न थालेका छन्।
कठोर परिस्थितिमा जीवन धान्नका लागि अफगानी नागरिकहरू मिर्गौला बेच्न थालेका छन्। मिर्गौला बेच्नेहरू ऋण तिर्न र खानाको जोहो गर्न त्यस्तो क्रुर कदम चाल्न बाध्य रहेको बताउँछन्।
अफगानिस्तानको हेरात सहर नजिक रहेको शेन्शायबा बजारमा त यति धेरैले मिर्गौला बेचिसके कि सो बस्ती अहिले ‘एउटा मिर्गौला गाउँ’को नामले चिनिन थालेको छ। गाउँका धेरैले जीवनको पार्जनका लागि एउटा मिर्गौला बेचेका हुन्। अफगानिस्तानको कालो बजारमा केही लाख अफगानी मूल्यमा सहजसँग मिर्गौला बेचबिखन भइरहेको एएफपीले लेखेको छ।
‘मिर्गौला बेच्न कसलाई मन लाग्छ, तर मसँग कुनै विकल्प बाँकी थिएन, मैले बालबच्चाका लागि पनि मिर्गौला बेच्नु पर्यो,’ ३२ वर्षीय एक युवाले एएफपीसँग भने, ‘तर, अहिले मलाई मिर्गौला बेचेकोमा पछुतो लागेको छ, म अहिले काम गर्न नसक्ने भएको छु, जतिखेरै दुखिरहन्छ, त्यसैले केही भारी सामान उचाल्न सक्दिनँ।’
विश्वको अधिकांश देशमा मिर्गौला किनबेच प्रतिबन्धित छ। तर, अफगानिस्तानमा मिर्गौला प्रत्यारोपणसम्बन्धी कानुन छैन। दाताले लिखित सहमति जनाएको स्थितिमा डक्टरलाई कुनै कारबाही हुँदैन। दान गरिएको मिर्गौलालाई कहाँ प्रयोग गरिन्छ भन्ने कसैलाई थाहा छैन। डक्टरले पनि यो आफूहरूको चासोको विषय नभएकाले खासै वास्ता नगरेको बताउँछन्।
‘मैले अढाई लाख अफगानी मुद्रामा आफ्नो मिर्गौल बेचेँ, मलाई बाध्यता आइपर्यो, श्रीमान केही काम गर्दैनन्, ऋण धेरै थियो, बालबच्चाले भिख माग्ने अवस्था आयो,’ तीन बच्चाकी आमा अजिजालेब ताइन्, ‘यदि, मैले मिर्गौला नबेचेको भए, म मेरी एक वर्षकी छोरी बेच्न बाध्य हुन्थेँ।’
मिर्गौलाको बेचबिखन निक्कै क्रुर जस्तो सुनिन्छ। तर, अफगानिस्तान अहिले निक्कै विकराल स्थितिबाट गुर्जिरहेको छ। देशको ५९ प्रतिशत जनसंख्या अथवा झण्डै २.४ करोड मानिसहरू भोकमरीको जोखिममा छन्।