रुसले आक्रमण थालेको ६ दिनमा पाँच लाख मानिसले युक्रेन छाडेको संयुक्त राष्ट्रसंघले जनाएको छ।
राष्ट्रसंघका अनुसार रुसको आक्रमणका कारण हालसम्म तीन सय ५२ जना सर्वसाधारणको ज्यान गइसकेको छ। तीमध्ये सोमबार मात्र एक सय दुईजनाको रुसी आक्रमणमा परी मृत्यु भएको थियो। हालसम्म ज्यान गएकामध्ये १६ जना बालबालिका छन्।
‘पाँच लाखभन्दा बढी सर्वसाधारण युक्रेन छाडेर छिमेकी मुलुकहरूमा पुगेका छन्,’ राष्ट्रसंघीय शरणार्थी उच्चायोग प्रमुख फिलिप्पो ग्रान्डीले भने।
युक्रेन छाडेर छिमेकी मुलुक पोल्यान्ड, हंगेरी, स्लोभाकिया, रोमानिया र मोल्दोभा पुग्ने सर्वसाधारणको ती मुलुकको सीमा क्षेत्रमा लामो लाइन लागेको छ। पोल्यान्डमा मात्र दुई लाख ८१ हजार जनाले शरण लिएको राष्ट्रसंघले जनाएको छ।
यस्तै, हंगेरीमा ८४ हजार पाँच सय, मोल्दोभामा ३६ हजार चार सय, रोमानियामा ३२ हजार पाँच सय र स्लोभाकियामा ३० हजारजनाले शरण लिएको यूएनएचसीआरकी प्रवक्ता साबिया मन्टुले जनाइन्।