पुटिनले क्रिमिया कब्जामा लिन्छन् भन्ने सोचिएको थिएन। तर, लिएरै छाडे। उनले डोनबासमा युद्ध शुरु गर्लान् भन्ने पनि सोचिएको थिएन तर लडाईं छेडे। पूरै युक्रेनमा त उनले आक्रमण नगर्लान् भन्ने थियो, त्यो पनि गरेरै छाडे। के त्यसो भए अब उनी परमाणु युद्ध थाल्न उत्ताउला भएका हुन् ? उनको ट्र्याक रेकर्डले मानव सभ्यतामाथि नै सम्भावित त्रासदीको खतरा उत्पन्न भएको छ।
उनले रुसको ‘न्युक्लियर फोर्स’लाई ‘हाई अलर्ट’मा राख्नुको अर्थ के हो ? युक्रेनमा सैन्य अभियान शुरु गर्दा नै पुटिनले चेतावनी दिएका थिए, ‘कोही यसमा बाह्य हस्तक्षेप गर्नेबारे सोच्छ पनि भने उसले यस्तो मूल्य चुकाउनु पर्नेछ, जो अतीतमा कहिल्यै चुकाउनु परेको थिएन।’
नोभाया ग्याजेट अखबारका प्रधान सम्पादक तथा नोबेल शान्ति पुरस्कार विजेता दिमित्री मरातोभको बुझाइमा परमाणु हतियार प्रयोग गर्ने पुटिनको धम्की हो। यदि उनले परमाणु हतियार प्रयोग गरे भने विनाशलीला मच्चिने उनी बताउँछन्।
उनको भनाइमा युद्धको उन्मादमा रहेका पुटिनलाई रोक्न सक्ने रुसमा कोही छैन। र, सम्पूर्ण शक्ति उनले आफैँमा केन्द्रित गराएका छन्।
युरोपेली मुलुकहरू ऊर्जामा रुससँग निर्भर छन्। रुसको राजस्वको मूल स्रोत नै ग्यास बिक्री हो। यस तथ्यबाट वर्तमान संकटलाई अलग गर्न पनि सकिँदैन।
युक्रेनमा आक्रमणपछि युरोपेली मुलुकहरूले रुसविरुद्ध धमाधम प्रतिबन्ध घोषणा गरिरहेका छन्। रुसका सबै विमान अब युरोपको आकाशमा प्रवेश गर्न सक्दैनन्। त्यसबाहेक युरोपेली मुलुकहरू युक्रेनलाई हतियार पठाउन केन्द्रित भएका छन्।
युरोपमा ग्यासको आपूर्ति रुसले रोकिदियो भने त्यसको मूल्य आकाशिने छ। युरोपियन युनियन ग्यास आपूर्ति रोकिने या कम हुने कुराबाट ज्यादा त्रसित देखिन्छ। सोमबार युरोपियन युनियनका ऊर्जा मन्त्रीहरूको बैठक बोलाउनुको मुख्य कारण पनि यही त्रास हो।
पुटिनको परमाणु हतियार प्रयोगको धम्कीबीच युरोपको ऊर्जा संकट अब आर्थिक समस्याबाट राजनीतिक चुनौतिमा बदलिएको छ। र, पश्चिमा मुलुक रुसमाथि ग्यास युद्ध छेडेको आरोप लगाउन थालेका छन्।
यही परिस्थितिबीच अमेरिका र साउदी अरेबियाको सम्बन्ध पनि पहिलेझैँ हार्दिकतापूर्ण छैन। यदि दुई मुलुकको सम्बन्ध पहिलेजस्तो हुन्थ्यो त रुसबाट ग्यास आपूर्ति नहुँदा पनि युरोपलाई फरक पर्ने थिएन। अमेरिकी राष्ट्रपति जो बाइडेनले ग्यासको निर्यात बढाउन गरेको आग्रह साउदी अरेबियाले अस्वीकार गरेको छ। त्यसैले युक्रेन युद्ध अभ बढी पेचिलो बन्दै गएको छ।
बीबीसीबाट