पश्चिमा मुलुकले धमाधम प्रतिबन्ध घोषणा गर्न थालेपछि रुसका बैंकहरूबाट रकम निकाल्नेहरूको दौडधुप तीव्र बनेको बीबीसीले जनाएको छ।
रुसको केन्द्रीय बैंकले आफ्ना नागरिकलाई शान्त रहन अपील नै जारी गरेको छ। र, पश्चिमा मुलुकको प्रतिबन्धले कुनै असर नपर्ने दाबी गरेको छ।
वित्तीय स्थिरता कायम राख्न तथा वित्त परिचालनको निरन्तरता सुनिश्चित गर्न आवश्यक संशाधन र उपकरण रहेको बताउँदै केन्द्रीय बैंकले पैसा निकाल्ने दौडधुपमा नलाग्न रुसी नागरिकलाई आग्रह गरेको छ।
खासगरी, युरोपियन युनियम, अमेरिका, बेलायत र क्यानाडाले रुसको केन्द्रीय बैंकको सम्पत्ति जफत गरेको घोषणा गरेपछि रुसी नागरिकहरू आ–आफ्ना बैंक खातामा रहेको पैसा निकाल्न दौडधुपमा लागेका हुन्।
कतिपय रुसी बैंकहरू स्विफ्ट पेमेन्ट प्रणालीबाट निकालिइसकेका छन्। त्यसले पनि मानिसलाई आफ्नो रकम घरमै सुरक्षित राख्ने हतारो भएको हो। मार्च २०२० पछि पहिलोपटक रुसका बैंकहरूमा नगदको माग उच्चतमस्तरमा पुगेको छ। सोही माग धान्न शुक्रबार मात्र रुसको केन्द्रीय बैंकले एटीएममार्फत हुने भुक्तानीको सीमा बढाउन बाध्य हुनुपरेको थियो।
रुसी केन्द्रीय बैंकसँग करिब ६ खर्ब ३० अर्ब अमेरिकी डलरबराबरको भण्डार छ। पश्चिमा मुलुकको प्रतिबन्धका कारण बैंक अफ रुसले आफ्नो सम्पत्ति विदेशमा बिक्री गर्न नपाउने भएको छ। ‘युद्ध उपकरण खरिद गर्न रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई कमजोर बनाउने उद्देश्यले यस्तो कदम उठाइएको हो,’ युरोपियन कमिसनका अध्यक्ष उर्सला भोन डेर लेयेनले भनिन्।
बजार विश्लेषकहरूका अनुसार सोमबार रुसको मुद्रा रुबलको मूल्य ह्वात्तै घट्नेछ। सोही कारण मानिसहरू आफ्नो रकम निकाल्न दौडधुपमा लागेका हुन्। ‘यी नयाँ प्रतिबन्धहरूले रुसी अर्थव्यवस्था र उसको बैंकिङ प्रणालीमा गम्भीर नोक्सानी पुग्नेछ,’ इन्स्टिच्युट अफ इन्टरनेसनल फाइनान्सका उपाध्यक्ष क्ले लोवीले भने।
बिहीबार मात्र रुसको केन्द्रीय बैंकले पर्याप्त तरलता रहेको उल्लेख गर्दै ग्राहकहरूले चाहेजति रकम चाहेकै समयमा लैजान सक्ने बताएको थियो।