काठमाडौं- रसुवाको गोसाईंकुण्ड गाउँपालिका-१ थुम्मनकी पेम्बा याङजेन तामाङलाई अब छोराछोरीलाई शिक्षामा विभेद गर्नु हुँदैन भन्ने राम्रोसँग थाहा भइसकेको छ। उनले हिंसा गर्नु मात्र नभई हिंसा सहनु पनि अपराध रहेको भन्नेसमेत बुझेकी छन्।
विगतमा चुलो, चौको, मेलापातमा मात्र सीमित रहने महिलालाई सचेत गराउन गाउँघरमा सक्रिय महिला समूहले समेत भूमिका वहन गरेको छ। ‘पहिला त हामी जति नै अरूको दबाबमा रहेर कसैलाई भन्न सक्ने थिएनौं। धेरैजसो घरेलु हिंसा हुन्थ्यो, पीडामाथि पीडा थुपारेर बस्न बाध्य थियौं,’ उनी भन्छिन्, ‘तर, अब बोल्ने आँट आउँछ।’
उनका अनुसार संघसंस्था र सरकारी निकायले ग्रामीण भेगको घरदैलोमै पुगी चलाएका अभियानको सकारात्मक प्रभाव देखिन थालेको छ। महिलाका समस्या महिला समूहबाटै बढी उजागर हुने गरेका छन्। यसले पीडा सहनु हुँदैन भनेर हौसला दिने गरेको छ। तामाङ भन्छिन्, ‘महिला समूहको बैठक बसी के छ समस्या भन्नेबारे खुलेर कुरा गर्छौं र कसैलाई समस्या परेको छ भने त्यसबारे के गर्ने भन्ने निर्णय लिन्छौं।’
हिंसा भएमा खुलेर कुरा गर्ने र समस्याको समाधान खोज्न पछि नहट्ने गोसाईंकुण्ड-१ थुम्मनकै चेङा डोल्मा तामाङ बताउँछिन्। महिला हिंसाबारे अहिले खुलेर आवाज उठाउने गरेको उनको भनाइ छ। अहिले विगतमा जस्तै दिदी-बहिनीले पीडा लुकाएर बस्ने जमाना नरहेकामा उनी प्रष्ट छिन्। भन्छिन्, ‘हिंसा लुकाएर होइन, फुकाएर समाधान गर्नुपर्छ भनेर एकले अर्कालाई भन्ने गरेका छौं।’
विगतमा जति हिंसा भए पनि सहेरै बस्न बाध्य महिलाहरू अहिले भने हिंसाविरुद्ध आवाज उठाउन थालेका छन्। ग्रामीण क्षेत्रका महिला घरको कुरा प्रहरी कार्यालयसम्म पुर्याउँदा समाजमा परिवारको इज्जत जाने भन्दै कुण्ठा पालेर बस्ने गर्थे। पछिल्लो समय शिक्षा र चेतनाको विकासले ग्रामीण महिलाहरू हिंसाविरुद्ध खुल्न थालेको सरोकारवालाको भनाइ छ।
विभिन्न अभियानका प्रभावले महिलाहरू आफूमाथि भएका हिंसाविरुद्ध न्याय माग्दै प्रहरी र अदालतसम्म पुग्न सक्षम भएको रसुवाका महिला अधिकारकर्मी बताउँछन्। रसुवा महिला सञ्जालकी अध्यक्ष सुनितामाया गुरुङका अनुसार अहिले दैनिकजसो महिलाहरू कुनै न कुनै समस्याबारे खुलेर बताउन आइपुग्छन्। ‘सचेतना पाएसँगै पहिलाभन्दा अहिले महिलाहरू खुलेर आफ्ना समस्याहरू राख्नुहुन्छ। दैनिक जसो गुनासा तथा समस्या लिएर आउनुहुन्छ,’ उनी भन्छिन्, ‘घरेलु हिंसासम्बन्धी समस्या लिएर आउने धेरै छन्।’
रसुवा मात्र होइन, देशभरका ग्रामीण भेगका महिला हिंसाबारे खुल्न थालेका छन्। परिवार तथा समाजमा बेइज्जत हुने डरले हिंसा हुँदा पनि मनमै दबाएर राख्ने उनीहरू अब भने आफ्नो समस्या निर्धक्क सुनाउन थालेका छन्। चेतना अभावमा महिलाले यसअघि हिंसा सहने गरेकामा अब भने त्यस्तो समस्या क्रमशः हट्दै गएको सरोकारवालाको भनाइ छ।
यसमा स्थानीय सरकार, गैरसरकारी संघसंस्था र अधिकारकर्मीहरूले भूमिका उल्लेख्य रहेको सञ्जालकी अध्यक्ष गुरुङ बताउँछिन्। विभिन्न निकायले सञ्चालन गर्ने अभियानको सकारात्मक प्रभाव ग्रामीण भेगसम्म देखिन थालेको छ।
बेरोजगारी र कमजोर आर्थिक अवस्थाका कारणसमेत घरमा झगडाका घटना बढी हुने गरेका छन्। गुरुङका अनुसार श्रीमानले कुटपिट गरेकोदेखि घरमा हुने अपमानसम्मका घटनाहरूमा महिलाहरू खुल्न थालेका छन्। यसरी आउने गुनासोमध्ये सामान्य घटनामा सम्झाइबुझाइ गर्ने र जटिल प्रकारका घटनामा कानूनी उपचारमा जान सल्लाह दिने गरिएको उनी बताउँछिन्। उनका अनुसार परामर्शको अभावले समेत कहिलेकाहीं घरझगडा हुने गरेको छ। सामान्य झैझगडामा दुवै पक्षलाई सँगै राखेर मिलाइने गरेको छ।
रसुवा प्रहरीका अनुसार अहिले परिवारमा झैझगडाका उजुरीसमेत दर्ता हुन थालेका छन्। यस्तो अवस्थामा समेत प्रहरीले दुवै पक्षलाई सम्झाइबुझाइ गर्छ। गुरुङ भन्छिन्, ‘कतिपय त सम्झाइबुझाइ गर्दा मिलेर जानुभएको छ। केही भइहालेमा प्रहरीले लगेर थुनिदिए हुन्थ्यो, बोलाइदिए हुन्थ्यो भन्ने किसिमको छ। नागरिकहरूले सचेतना पाएसँगै अहिले समाज सुसूचित भएको पाइन्छ।’
स्थानीय तहमा हुने कार्यक्रममा बढ्दो सहभागिता
रसुवाको आमाछोदिङ्मो गाउँपालिकाका अध्यक्ष बुचुङ तामाङका अनुसार महिला दिवस वा केही महिला विशेष कार्यक्रममा अहिले महिलाहरूको सहभागिता उल्लेख्य हुने गरेको छ। विगतमा आमा, दिदी-बहिनी नआउने गरेकोमा अब त्यो समस्या नरहेको उनी बताउँछन्।
गाउँपालिकामार्फत हुने कार्यक्रमले हिंसा सहने बानी क्रमशः हट्दै गएको उनको ठम्याइ छ। तामाङका अनुसार गाउँपालिकामार्फत पनि महिला सशक्तीकरणका कार्यक्रमहरू सञ्चालन गरिएका छन्। ‘पहिला आफ्नो परिचय भन्नसमेत डराउने आमा, दिदी-बहिनी अहिले खुलेर बोल्नुहुन्छ,’ उनी भन्छन्।
रसुवामा घरेलु हिंसा, बहुविवाह, बालविवाह, बलात्कार प्रयासलगायत घटना भएको पाइन्छ। कतिपय घटनाहरू मिलापत्रबाट समाधान भएको पाइन्छ भने कतिपय कानूनी कारवाहीमा पनि गएका छन्।