रुसले युक्रेनमाथि गरेको आक्रमणप्रति सिरियाली राष्ट्रपति बसर अल असदले समर्थन गरेका छन्। असदले युक्रेनमाथि गरिएको आक्रमणलाई ‘इतिहासको सुधार’ बताएका छन्।
रुसी राष्ट्रपति पुटिनसँगको टेलिफोन संवादमा असदले आक्रमणप्रति समर्थन जनाएका हुन्। असदको भनाइलाई क्रेमलिनको वेबसाइटमा पोस्ट गरिएको छ। जसमा असदले अमेरिका र नेटोको आलोचना गरेका छन्।
रुसी राष्ट्रपति पुटिनले पनि सिरियाको सरकारी सेनालाई समर्थन गर्दै आएका छन्। रुसको जबर्जस्त उपस्थितिकै कारण अमेरिकाले सिरियाबाट आफ्नो सेना फिर्ता लगिसकेको छ।
युक्रेनमा ठ्याक्कै सिरियाकै जस्तो स्थिति उत्पन्न भएको छ। सिरियाका नागरिकलाई जस्तै युक्रेन सरकार आफ्नो नागरिकलाई पनि मेसिन गन थमाउन बाध्य भएको छ। र, पेट्रोल बम बनाउने तरिका सार्वजनिक रूपमा सिकाइएको छ।
रुसी सैनिक तीव्र गतिमा युक्रेनको राजधानी किभतर्फ बढ्दै गर्दा नागरिकलाई मेसिन गन थमाएर युक्रेन सरकारले रुसको प्रतिकारमा उतारेको हो। युक्रेनको रक्षा र गृह मन्त्रालय दुवैले रुसी सेनाको गतिविधिबारे जानकारी दिन र उनीहरूको प्रतिकार गर्दै प्रत्याक्रमण गर्न आह्वान गरेका छन्।
कतिसम्म भने युक्रेनको गृह मन्त्रालयले आफ्नो सामाजिक सञ्जाल एकाउन्टमै पेट्रोल बम बनाउने जानकारी पोस्ट गरेको छ। मन्त्रालयका सल्लाहकारका अनुसार किभका बासिन्दालाई १८ हजार थान मेसिन गन वितरण गरिएको छ। राजधानीको सुरक्षाका लागि नागरिकलाई मेसिन गन जिम्मा लगाउनुपर्ने बाध्यता आइपरेको उनले बताएका छन्।
रुसी सैनिकबाट राजधानीको सुरक्षाका लागि युक्रेनका सैन्य दस्ता धमाधम किभ प्रवेश गरिरहेका छन्। युक्रेन सरकारले नागरिकलाई आफ्ना सैनिक किभको सुरक्षामा तैनाथ भइरहेको भिडियो नखिच्न सरकारले निर्देशन दिएको छ।