युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो मुलुक नै कब्जा गर्ने गरी रुसले आक्रमण गरिरहँदा युरोपेली देशहरूले मौनता साँधेकामा असन्तुष्टी जनाएका छन्।
सैनिक बर्दीमा देशका नाममा सम्बोधन गर्दै उनले भने, ‘युक्रेनमा रुसको आक्रमण तीव्र रहँदा तपाईंहरू चुपचाप बस्नुभएको छ, आफ्नो सुरक्षा कसरी गर्नु हुन्छ ?’
रुसले गरिरहेको आक्रमणको तुलनामा युरोपेली मुलुकहरूको प्रतिवाद कमजोर देखिएको उनले बताए। ‘दोस्रो विश्वयुद्धमा जस्तै तपाईंहरूले भन्नुभयो, अब दोस्रोपटक त्यस्तो हुने छैन। यहाँ (युक्रेनमा) फेरि त्यही नियति दोहोरिएको छ। तर, तपाईंहरू पर्याप्त जवाफ दिइरहनुभएको छैन।’
यदि युरोपेली मुलुकहरूले तीव्र रूपमा कदम उठाएको भए रुसी हमला रोक्न सकिने सम्भावना अझै पनि जीवित रहेको उनले सम्झाए। उनले युरोपेली मुलुकका जनतालाई युक्रेनका पक्षमा प्रदर्शन तीव्र बनाउन पनि आग्रह गरे। आ–आफ्ना सरकारलाई रुसविरुद्ध कारवाहीका लागि बाध्य बनाउन त्यस्तो प्रदर्शन आवश्यक रहेको उनको भनाइ थियो।
‘मलाई यकिन छ, तपाईंहरू सबै हेरिरहनुभएको छ, तपाईंहरू सबै, पूरा युरोप। तर, हामीले देख्न पाइरहेका छैनौँ कि तपाईंहरू यसको बारेमा के गर्दै हुनु हुन्छ ? जब तपाईंहरू युक्रेनलाई मद्दत गर्न यति ढिलो गरिरहनुभएको छ भने तपाईंहरू आफ्नो सुरक्षाचाहीँ कसरी गर्नु हुन्छ ?’ जेलेन्स्कीले प्रश्न गरे।
राष्ट्रपति जेलेन्स्कीले युरोपका हरेक मुलुकका राष्ट्राध्यक्षलाई फोन गर्दै युक्रेनको अवस्थाका बारेमा निरन्तर जानकारी दिइरहेका छन्। र, रुसविरुद्ध कडाभन्दा कडा प्रतिबन्ध घोषणा गर्न आग्रह गरिरहेका छन्।