मनिष अर्याल
अमेरिकी मिलेनियम कम्प्याक्ट (एमसीसी) संघीय संसदबाट पारित गराउन लागिएको विरोधमा काठमाडौंको नयाँबानेश्वर–माइतीघर क्षेत्र दिनहुँ तनावग्रस्त छ।
त्यस क्षेत्रमा आन्दोलनमा सहभागी हुन गएका युवा–युवती प्रहरीसँग झडपमा उत्रिने गरेका छन्। तर, आन्दोलनमै गएका र त्यस क्षेत्रको रमिता हेर्न पुगेकाहरूलाई त्यसको कुनै मतलव छैन।
उनीहरूमध्ये कोही न्यानो घाममा बसेर बदाम खाइरहेका छन्। कोही खाडी सडकमा टिकटक बनाउन नाच्दै गरेको भेटिन्छन्। कोही भने चर्को स्वरमा गफ चुट्न व्यस्त छन्। गफको विषय पनि एमसीसी नै हुने गरेको छ।
सरकारले गत आइतबार प्रतिनिधिसभामा एमसीसीसम्बन्धी प्रस्ताव टेबल गरेको थियो। सत्तामै बसिरहेका दलहरूको चर्को विरोधका बावजुद एमसीसी संसदमा टेबल भएको छ। र, अहिले सरकार पक्ष त्यसलाई पारित गराउन प्रमुख विपक्षी एमालेसँग पनि घनिभूत छलफलमा छ।
एमसीसी कुनै हालतमा पारित गर्न नहुने अडानमा रहेका दलहरू नयाँबानेश्वर–माइतीघर सडकमा युवा–युवतीलाई उतारेर प्रदर्शनमा व्यस्त छन्। आन्दोलनकारीको ढुंगामुढा र प्रहरीबाट बच्दै बटुवाहरू आ–आफ्नै धुनमा मग्न देखिन्छन्।








