काठमाडाैं– ब्राजिलको अमेजनमा शनिबार एउटा सानो प्रोपेलर विमान दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ।
विमानमा रहेका १२ यात्री र चालक दलका दुई जना सदस्यको मृत्यु भएको सरकारी अधिकारीहरूले बताएका छन्। घटनाको अनुसन्धान सुरु गरिएको जनाउँदै उनीहरूले प्रतिकूल मौसमका कारण दुर्घटना भएको बताएका छन्। अमेजन्स राज्यका सुरक्षा सचिव भिनिसियस अल्मेडाले अतिकम ‘भिजिबिलिटी’मा अवतरण गर्दा दुर्घटना भएको बताएका छन्।
ब्राजिलको विमान निर्माता कम्पनी एम्ब्रेरद्वारा निर्मित ट्वीन इन्जिन टर्बोप्रप विमानमा सुरक्षाका सबै पूर्वशर्त एवं उड्डयन नियमको पूर्णपालना गरिएको बताइएको छ। विमान कम्पनीले एक विज्ञप्ति निकालेर यान्त्रिक खराबीका कारण दुर्घटना भएको मान्न सकिने आधार नभएको बताएको छ।
धेरै राष्ट्रिय निकुञ्ज नजिक रहेको लोकप्रिय पर्यटकीय गन्तव्य बार्सिलोसमा माछामार्ने मनोरञ्जनात्मक खेलमा सहभागी हुन एक जना व्यापारीले उक्त विमान चार्टर गरेका थिए। विभिन्न प्रजातिका माछाका लागि परिचित उक्त स्थानमा हरेक वर्ष यो महिना माछामार्नेको भीड लाग्ने गर्दछ।