हङकङ- प्रदर्शनकारीहरूले ‘लज्जाको स्तम्भ’ उपनाम दिएको हङकङस्थित तियानमेन स्क्वायरको प्रतिमा हटाइएको छ । यो स्तम्भ युनिभर्सिटी अफ हङकङ परिसरमा स्थापना गरिएको थियो ।
सन् १९८९ मा चीनको राजधानी बेइजिङस्थित तियानेमन स्क्वायर परिसरमा प्रदर्शन गरिरहेका हजारौँ लोकतन्त्र समर्थकहरूको बर्बरतापूर्वक हत्या गरिएको ‘स्मृति’ झल्काउने प्रतिमा युनिभर्सिटी अफ हङकङ परिसरमा स्थापना गरिएको थियो । प्रतिमामा लाशै लाश अंकित गरिएको थियो ।
यो स्मारक हङकङमा रहेका गिनेचुनेका थोरै सार्वजनिक स्थलमध्ये एक थियो । यसलाई त्यतिबेला हटाइएको छ, जतिबेला बेइजिङले हङकङमा जारी राजनीतिक असन्तोषमाथि निरन्तर दमन गरिरहेको छ ।
‘लज्जाको स्मारक’ (पिलर अफ सेम) नाम दिँदै युनिभर्सिटी अफ हङकङले गत अक्टोबरमा उक्त प्रतिमा हटाउन आदेश दिएको थियो ।
चीनमा अति संवेदनशील विषय मानिने तियानमेन घटनाको विरोधमा हङकङमा भने सार्वजनिक प्रदर्शन गर्न छुट दिइँदै आएको छ ।
सन् १९८९ मा बेइजिङस्थित तियानमेन स्क्वायरमा राजनीतिक स्वतन्त्रता माग गर्दै व्यापक प्रदर्शन भएको थियो । धेरै सातासम्म त्यहाँ चिनियाँ नागरिकले धर्ना र प्रदर्शन गरे । तर, चिनियाँ जनमुक्ति सेना स्क्वायरमा प्रवेश गरेर प्रदर्शनकारीमाथि अन्धाधुन्द गोली चलायो । चीन सरकारले त्यस क्रममा दुई सय प्रदर्शकारीको मृत्यु भएको दाबी गरेको थियो । तर, त्यो संख्या १० हजारभन्दा बढी रहेको अनुमान छ ।