नयाँदिल्ली- दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल आफ्ना नागरिकप्रतिको जिम्मेवारी वहनमा अब्बल नेतामा दरिएका छन् । त्यसको पछिल्लो उदाहरण हो, कोरोनाको ओमिक्रोन भेरियन्टमाथि विजय पाउन उनले तयार पारेको सूत्र ।
उनको दाबीअनुसार दैनिक एक लाख बिरामीको उपचारको प्रबन्ध दिल्ली सरकारले गरिसकेको छ । र, औषधि एवं अक्सिजनको प्रबन्ध पनि सरकारले गरिसकेको छ ।
दिल्ली सरकारले दुई महिनाका लागि औषधिको स्टक तयार पारेको छ । र, अक्सिजन पनि सोहीअनुसार तयारी अवस्थामा राखिसकेको छ ।
ओमिक्रोनको सम्भावित प्रभावबारे छलफल गर्न बिहीबार केजरीवालले आफ्ना सबै विभागीय प्रमुखहरूसँग छलफल गरे । बैठकपछि उनले भने, ‘दैनिक तीन लाखजनाको परीक्षणका लागि सरकारी तयारी अवस्थामा छ ।’
कोभिड–१९ महामारीको दोस्रो लहरको दौरान दिल्लीमा दैनिक २६ हजारदेखि २७ हजार बिरामी फेला परेका थिए । ‘यसपटक हामी दैनिक एक लाख बिरामीको उपचार गर्ने क्षमतामा छौँ,’ उनले भने ।
वैज्ञानिकहरूले ओमिक्रोन तीव्र गतिमा प्रसार हुने भेरियन्ट रहेको बताएका छन् । तथापि, त्यसको उपचारका लागि अस्पताल नै जानुपर्ने मामिला कम हुने केजरीवालको बुझाइ देखिन्छ ।
‘म अपील गर्छु, सबैजना घरमै बसौँ । अस्पतालतिर नदगुरौँ,’ केजरीवालले भने, ‘हल्का लक्षण छ भने हामी घरमै आएर उपचार गर्नेछौँ । होम आइसोलेसन सिस्टमलाई अझ मजबुत बनाउँदैछौँ ।’