नयाँदिल्ली– छिमेकी मुलुक चीन र पाकिस्तानसँग जारी तनावपूर्ण सम्बन्धका बीच भारतले घरेलु अन्वेषण र विदेशबाट खरिदका रणनीतिका साथ ड्रोन प्रविधिमा लगानी बढाएको छ ।
ड्रोनमार्फत आफ्नो सैन्य क्षमता बढाउने भारतको प्रयास देखिन्छ । त्यसको पछिल्लो उदाहरण हो, १७ नोभेम्बरमा गरिएको ‘ड्रोन स्वार्म’ प्रदर्शन । भारतको रक्षा अनुसन्धान तथा विकास संस्थान (डीआरडीओ) ले उक्त प्रदर्शन आयोजना गरेको थियो । त्यस क्रममा एकसाथ २५ वटा ड्रोन उडाइएको थियो ।
त्यसमा धेरै सैन्य परिस्थितिलाई प्रदर्शन गरिएको थियो । कुनै टार्गेटलाई घेराउ गर्ने, सुनियोजित आक्रमण गर्नेलगायत परिस्थितिमा ड्रोनको प्रभावकारिता देखाइएको थियो ।
यसअघि गत जनवरीमा भारतीय सेनाले ड्रोनको यस्तै प्रदर्शनी आयोजना गरेको थियो । त्यतिबेला भारतमै निर्मित ७५ वटा ड्रोनलाई एकसाथ उडाइएको थियो । त्यसमा आक्रामक मिसनको पनि प्रदर्शन गरिएको थियो ।