काठमाडौं- नेपाली क्रिकेटलाई सम्भावनाको खेल भनिन्छ। आजदेखि शुरु भएको एसीसी प्रिमियर कपमा उपाधि दाबेदार नेपालले मलेशियामाथि सानदार विजयी शुरुवात गरेसँगै आशा बढेर गएको छ। समूह ‘ए’ को पहिलो खेलमा नेपालले मलेसियालाई ६ विकेटले पराजित गर्दै सुखद शुरुवात गरेको हो ।
जितका लागि चाहिएको २३६ रनको लक्ष्य नेपालले ३६ ओभर २ बलमा ४ विकेट गुमाएर पूरा गर्यो। नेपाललाई जिताउन भीम सार्कीले ७१ रन बनाए भने कुशल मल्ल ७० रनमा नट आउट रहे। रोहित पौडेलले ४२ र कुशल भुर्तेलले ३८ रन बनाए। आसिफ सेख १ रनमा आउट भए।
यसअघि मलेसियाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २३५ रन बनाएको हो। नेपालका लागि सोमपाल कामी र सन्दीप लामिछानेले ३-३ विकेट लिए। ललित राजवंशीले १० ओभरमा २ तथा गुलशन झाले १ विकेट लिए। योसँगै नेपाल उपाधि जित्न एक खुड्किलो पार गरेको छ। आजको खेलमा नेपालले सहज जित हात पार्ने धेरैको अनुमान थियो। किनकि, नेपाल र मलेसियाबीचको पछिल्लो पाँच भेटमा नेपाल अपराजित छ।
नेपालका लागि मलेसिया चिरपरिचत प्रतिद्वन्द्वी पनि हो। यसअघि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आईसीसी) तथा एसीसीका प्रतियोगिताहरूमा धेरै पटक भेट भएको छ । तर, अब नेपालले एसीसी कपमा अर्को खेल ८ वैशाखमा ओमनविरुद्ध खेल्दै छ। नेपालका लागि ओमन कडा प्रतिद्वन्द्वी हो। नेपालले ओमान, कतार र साउदी अरेबियामाथि जित हात पार्न सके सेमिफाइनलको यात्रा तय गर्नेछ।

साकार होला भारत*पाकिस्तानसँग खेल्ने सपना?
नेपालले अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेदेखि भारत र पाकिस्तानजस्ता ठूला टोलीसँग खेल्ने सपना देख्दै आएको छ। जुन सपना साकार बनाउने मौका अहिले नेपाली टोलीले पाएको छ। किनकि, आजदेखि मात्र एसीसी प्रिमियर कप शुरु भइसकेको छ।
यदि नेपालले एसीसी प्रिमियर कप जिते भारत, पाकिस्तानजस्ता शक्तिशाली टेस्ट राष्ट्रहरूसँग प्रतिस्पर्धा गर्ने अवसर पाउँछ। संयोगले यसपट प्रिमियर कप विजेताले एसिया कपमा भारत र पाकिस्तानको समूहमा रहेर खेल्न पाउने छ । त्यस अर्थमा नेपालको भारत र पाकिस्तानसँग खेल्ने सपना प्रिमियर कपले पूरा गर्न सक्छ ।
नेपाल सन् २०१८ मा एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता प्राप्त राष्ट्र भए पनि छिमेकी राष्ट्र भारत र पाकिस्तान एकदिवसीय अन्तर्राष्ट्रिय होस् वा ट्वान्टी-२० अन्तर्राष्ट्रिय अझै खेल्न पाएको छैन। भारत र पाकिस्तानसँग खेल्न पाउनु नेपालको लागि विश्वकप सरह हो। अझ यी दुई देशमध्य एकलाई हराउन सके त्यो विश्वकप जिते भन्दा कम हुने छैन।
त्यो सपना साकार पार्ने एक मात्र बाटो हो- एसीसी प्रिमियर कप। त्यसैले प्रिमियर कपलाई ठूलो अवसरको रुपमा हेरिएको छ।
२०७९ को वर्षभर हारको शृंखलाबाट गुज्रिएको नेपाली क्रिकेट वर्षको अन्त्यतिर एउटा अभूतपूर्व लय समात्यो। नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता अर्को चार वर्षका लागि सुरक्षित गर्यो भने जिम्बावेमा असारमा हुने एकदिवसीय विश्वकप ग्लोवल क्वालिफायरमासमेत पुर्यायो।
नेपालले वर्ष २०७९ मा लिग टू अन्तर्गत २४ र यूएईसँग ३ गरी २७ एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेको छ । लिग टूका २४ मध्ये १३ जित, ९ हार, १ बराबरीको नतिजा निकालेको छ भने १ खेल वर्षाले रद्ध भएपछि अंक बाँडिएको थियो। मंसिरमा यूएईसँगको शृंखला नेपालले २-१ ले जितेको थियो। यो वर्ष घरेलु मैदानमा नेपालले ११ खेल खेल्दा १ खेलमात्र हारेको छ।

कुन टोलीले खेल्ला एसिया कप?
आजदेखि शुरु भएको एसीसी प्रिमियर कप प्रतियोगितामा १० टोली सहभागी छन्। १० टोलीलाई दुई समूहमा बाँडिएको छ । समूह ‘ए’ मा नेपाल, ओमान, कतार, मलेसिया र साउदी अरेबिया छन् । समूह बी मा यूएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन छन्। शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन्। फाइनल हुँदै उपाधि जित्ने टोलीले एसिया कपमा भारत र पाकिस्तानसँग खेल्न पाउँछन्।
एसिया कप खेल्ने दाबेदार टोली धेरै छन्। त्यसमध्यको एक हो- नेपाल। मुख्य दाबेदार भए पनि एसिया कपमा भारत र पाकिस्तानसँग खेल्न नेपालले उत्कृष्ट क्रिकेट खेल्नुपर्ने हुन्छ। एसीसी कप जित्न नेपाललाई त्यति सजिलो भने छैन।
सबै टोलीको क्षमता, खेलाडी र अनुभव हेर्दा एसिसी प्रिमियर कप उपाधि जित्दै भारत र पाकिस्तानसँग खेल्न सक्ने अरू टोली पनि छन्। त्यसमध्यको एक हो- ओमान। ओमानले लगातार खेल्दै आएको खेललाई आधार मान्ने हो भने ओमानलाई मूल्य दाबेदारका रूपमा लिइन्छ। ओमानको टोलीमा कप्तान जिशान मकसुद, बिलाल खान, अकिब इलियास र जतिन्दरसिंहजस्ता म्याच विनर अनुभवी खेलाडी छन्। दबाबको खेलमा अनुभवी खेलाडीको निकै महत्त्वपूर्ण भूमिका हुन्छ।
ओमानसँगै एसिया कप खेल्र्ने अर्को मुख्य दाबेदार टोलीको रूपमा लिन सकिन्छ- यूएई। लिग*२ मा कमजोर प्रदर्शन गरेको यूएई क्वालिफायर प्लेअफमा सानदार प्रदर्शन गर्यो। लिग-२ बाट सीधै विश्वकप छनोटमा स्थान बनाउन नसकेको यूएईले क्वालिफायर प्लेअफबाट विश्वकप छनोटमा स्थान बनाएको छ।
पछिल्लो समय मुख्य प्रशिक्षक रोविन सिंहलाई हटाएपछि यूएईको प्रदर्शनमा धेरै परिवर्तन आएको छ भने नेपालमा धेरै खेल खेलेको हुनाले मैदानबारे राम्रोसँग जानकार छ। यूएईको ब्याटिङ पनि धेरै राम्रो छ। यूएईमा मोहम्मद वासिम, आयन लाक्रा, वृत्य अरविन्द, रमिज शाहजाद, रोहन मुस्तफा र आसिफ खानजस्ता धुरन्दर ब्याटर छन् । यस्तै, स्पिनर आयन खान, रोहन मुस्तफा र आर्यन लाक्राले गर्दा युएईको टोली सन्तुलित छ, जसले गर्दा उपाधि दाबेदार टोलीको रुपमा मान्न सकिन्छ।
यूएईजस्तै एसिया कपमा भारत र पाकिस्तानसँग खेल्न सक्ने अर्को दाबेदार टोली हो- हङकङ । किनकि, टोलीमा प्रमुख ब्याटर अंशुमन रथ र बाबर हायतजस्ता खेलाडी टोलीमा छन्। २०१८ को एसिया कपमा हङकङले भारतविरुद्ध सानदार प्रदर्शन गरेको थियो। उत्कृष्ट प्रदर्शनका बावजुद मध्यक्रमका ब्याटर नचल्दा २६ रनले पराजित भएको थियो। बाबर हायत, अंशुमन रथ र निजाकत खानजस्ता स्टार ब्याटरले हङकङको ब्याटिङ मजबुत बनेको छ।
यी तीन टोलीजस्तै एसिया कप खेल्ने अर्को प्रमुख टोली भनेको नेपाल हो।
उत्कृष्ट ब्याटिङ लाइनअप, घरेलु मैदान, दर्शक, पछिल्लो समय सानदार प्रदर्शनले गर्दा नेपाल प्रमुख दाबेदार हो भन्दा फरक पर्दैन। नेपालले आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडीआई सिरिजमा पछिल्ला १२ मध्ये ११ खेलमा जितका साथ सोझै विश्वकप छनोटमा पुगेको छ।
यससँगै जुनसुकै टोली पनि घरेलु मैदानमा बलियो हुन्छ। त्यसमाथि मोन्टी देशाईको मुख्य प्रशिक्षणमा नेपाल मैदान उत्रिएको छ। एउटा खेल जित्नमा प्रशिक्षकको कस्तो भूमिका हुन्छ भनेर मूल्यांकन गर्न धेरै टाढा जानु पर्दैन। गत महिना मात्र लिग-२ को अन्तिम खेल खेलेको नेपाली टोलीलाई हेरे पुग्छ। नेपाली क्रिकेटमा मोन्टी देशाई नयाँ प्रशिक्षकका रूपमा नियुक्त भएपछि जे भयो त्यो सबै चमत्कारसरह नै भएको छ।

किनकि, कप्तान ज्ञानेन्द्र मल्लको तलबका विषयमा शुरु भएको द्वन्द्व, त्यसलाई निस्तेज गर्न क्यानद्वारा सन्दीप लामिछानेलाई कप्तानीको जिम्मेवारी अनि लामिछानेमाथि नाबालिग बलात्कारको मुद्दा, क्यानले आयोजना गरेको अति विवादास्पद नेपाल टी-२० फ्रेन्चाइज क्रिकेट, स्पट फिक्सिङ र म्याच फिक्सिङ काण्ड, पारिश्रमिकविहीन बनेका खेलाडीजस्ता अनेक काण्डका बेला आएका प्रशिक्षक देशाईले गजबकै नतिजा दिलाएका छन्।
उनी प्रशिक्षकको रूपमा नियुक्त भएको धेरै भएको छैन। २२ माघदेखि मात्र प्रशिक्षण दिन शुरु गरेका देशाईले अप्रत्यासित नतिजा हात पार्न सफल भएका छन्। नेपालले पछिल्ला खेलहरूमा नामिबिया, स्कटल्यान्ड र यूएईजस्ता देशलाई पराजित गरेको छ।
यसअघि नेपालको प्रमुख कमजोरी ब्याटिङ रहँदै आएको छ। तर, पछिल्लो समय नेपालले ब्याटिङमा राम्रो सुधार गरेको छ। कुशल भुर्तेल, आसिफ, कुशल मल्ल, रोहित पौडेल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, भीम सार्कीजस्ता ब्याटर लयमा छन्।
नेपालले यसअघि ब्याटिङमा खासै राम्रो प्रदर्शन गर्न नसके पनि बलिङमा उत्कृष्ट गर्दै आएका छन्। गुलशन झा, ललित राजवंशी, सोमपाल कामी, करण केसी र सन्दीप लामिछानेजस्ता खुंखार बलर छन्। उनीहरू सबै लयमै छन्। त्यसैले नेपाली टोलीले उपाधि जित्दै पहिलोपटक एसिया कप खेल्ने उच्च सम्भावना छ।

चुनौति पनि उत्तिकै
विश्वकप लिग-२ मा उत्कृष्ट प्रदर्शन गरे पनि नेपाली क्रिकेट टोलीलाई चुनौती पनि उत्तिकै छ। प्रिमियर कपमा फरक टोलीहरूको सामना गर्नुपर्ने हुनाले धेरै कुरा नयाँ हुने मुख्य प्रशिक्षक मोन्टी देशाई बताउँछन्। यसअघि भएका प्रतियोगिताभन्दा एसीसी प्रिमियर कप फरकखाले प्रतिस्पर्धा हो।
यससँगै अर्को चुनौति भनेको ओमान र नेपाल एकै समूहमा हुनु हो। अर्को नेपाली टोलीमाथि जुन अपेक्षा गरिएको छ, त्यसअनुरुप अगाडि बढेमा यूएई सेमिफाइनल वा फाइनलको प्रतिद्वन्द्वी बन्न सक्ने सम्भावना बलियो छ।
