सुनसरी- बराहक्षेत्र नगरपालिका-१ वडा कार्यालयले औपचारिक कार्यक्रम आयोजना गरी आज खेलाडीहरूलाई सम्मान पत्रसहित नगदले सम्मान गरेको छ।
बराहक्षेत्र नगर खेलकुद विकास समितिले गत २७ फागुनदेखि १४ चैतसम्म वडास्तरीय प्रथम बराहक्षेत्र मेयर लिग कप फुटबल प्रतियोगिता सञ्चालन गरेको थियो। त्यसमा वडा नम्बर १ को टिमले सहभागिता जनाई उत्कृष्ट खेल प्रदर्शन गर्दै दोस्रो स्थानमा पुर्याउन सफल भएको थियो।
उक्त टिमले खेलकुदको माध्यमबाट वडाको प्रतिष्ठान उच्च बनाएको भनी प्रशिक्षक, टिम म्यानेजर, खेलाडीहरूलाई उच्च मूल्यांकन गर्दै १ नम्बर वडा कार्यालयले आफ्नोतर्फबाट उत्तरोत्तर प्रगतिको कामनासहित सम्मान पत्र र नगदसहित सम्मान गरेको छ।
सम्मानित हुनेमा प्रशिक्षक सूर्य तुम्बाहाम्फे, म्यानेजर राजकुमार राई यू-२० का राष्ट्रिय फुटबल खेलाडी अमर श्रेष्ठसहित सहभागी खेलाडीहरूलाई सम्मान गरिएको हो।
उक्त प्रतियोगितामा वडा नम्बर ३ प्रथम भई २ लाख १० हजार रुपैयाँ प्राप्त गरेको थियो भने दोस्रो वडा नम्बर १ ले १ लाख रुपैयाँ लाख प्राप्त गरेको थियो। तेस्रो स्थानमा वडा नम्बर २ ले ५० हजार रुपैयाँ प्राप्त गरेको थियो।
सम्मान कार्यक्रममा वडाध्यक्ष किसन थापा, सशस्त्र प्रहरी बेस क्याम्प चतराका इन्चार्ज तथा प्रहरी निरीक्षक देवेन्द्र रोक्का, वडा सदस्य दीपक राई, कुमार भट्टराई, वडा सचिव लक्ष्मण पौडेल र आइरिस बराह एकेडेमीका प्रिन्सिपल बालकृष्ण राईलगायतले खेलाडीहरूलाई सम्मान पत्रसहित नगद प्रदान गरेका थिए।