म्यानचेस्टर- वैज्ञानिकहरूले १ हजार वर्ष पुरानो ‘माया सभ्यता’को अवशेष फेला पारेका छन्।
मध्य अमेरिकी मुलुक ग्वाटेमालाको उत्तरी क्षेत्रमा प्राचीन माया सभ्यताका अवशेष वैज्ञानिकहरूले फेला पारेका हुन्। हावाबाट ‘लाइट डिटेक्सन एन्ड र्यागिङ (लिडार)’ लेजर स्क्यानिङमार्फत विलुप्त भएको माया सभ्यताको प्रमाण फेला परेको वैज्ञानिकहरूको भनाइ छ।
विशाल क्षेत्रफलमा माया सभ्यताको समयका बस्तीहरू पहिचान भएको उनीहरूले बताएका छन्। उक्त समयका भवन तथा संरचनाहरू मिराडोर-कालकमुल कार्स्ट बेसिन (एमसीकेबी) र आसपासको एक हजार ६८३ वर्गकिलोमिटरमा भेटिएका हुन्। १००० इसापूर्वदेखि २५० इसापूर्वको बीचमा ती बस्ती बसेको हुन सक्ने वैज्ञानिक आकलन छ।
अमेरिका, ग्वाटेमाला र फ्रान्सका शोधकर्ता उक्त खोजीमा संलग्न थिए। खोजी क्रममा फेला परेका बस्तीहरूमा घना आवादीको आकलन गर्न सकिने शोधकर्ताहरू बताउँछन्। त्यसको अर्थ प्राचीन मेसो-अमेरिकन स्थानमा घना आवादी रहेको प्रमाण हो।
यो खोजीमा धेरै चिज प्राप्त भएको छ। घरहरू, स्पोर्ट्स कोर्टहरू, धार्मिक तथा सार्वजनिक सभाहल, नागरिक केन्द्रहरू र तिनलाई जोड्ने नहरहरू, सघन सञ्जालसहितका भवनहरू ती बस्तीमा भेटिएका छन्।
‘तीमध्ये अधिकांश बस्ती र आसपासका अन्य बस्तीमा राजनीतिक, सामाजिक, भौगोलिक सम्बन्ध रहेको आकलन गर्न सकिन्छ। तिनमा ४१७ वटा प्राचीन शहर, साना नगर र गाउँ आपसमा गाँसिएको देख्न सकिन्छ,’ शोधकर्ताहरूले प्रकाशन गरेको शोधमा उल्लेख छ।

तीमध्ये अधिकांशमा राजतन्त्र रहेको प्रमाण पनि फेला परेको छ। फेला परेका भवनहरू निर्माण गर्न अनेकन कौशल प्रयोग गरिएको पाइएको छ। चुना उत्पादक, मोर्टार र खनिज विशेषज्ञहरू, लथिक प्राविधिक, आर्किटेक्ट, कानूनी निकाय र धार्मिक अधिकारीहरू समेत ती भवनहरू निर्माणमा सहभागी रहेको हुन सक्ने आकलन गर्न सकिन्छ।
त्यसका लागि ठूलो संख्यामा श्रमिक प्रयोग भएका हुन सक्छन्। ठूलो परिमाणमा प्लेटफर्महरू, महलहरू, साँघुहरू र पिरामिडका संरचना देख्दा त्यो मध्य र पछिल्लो प्रि-क्लासिक अवधिमा त्यस क्षेत्रमा ठूल-ठूला बस्ती रहेको प्रमाण भेटिएको शोधकर्ताहरूको भनाइ छ।
स्मार्ट ड्रेनेज र पानी संकलन प्रणाली रहेको प्रमाण पनि ती बस्तीमा भेटिएको छ। त्यो प्रणालीले बाढी र सुख्खा दुवै अवस्थामा पानीको सहज आउजाउ व्यवस्था गरिएको देख्न सकिने वैज्ञानिकहरू बताउँछन्। त्यसबाट माया सभ्यता कति विकसित थियो भन्ने प्रमाण फेला परेको उनीहरूको भनाइ छ।
लिडारद्वारा वैज्ञानिकहरूले जंगल क्षेत्र र अन्य वनस्पतिको विकासको मूनिपट्टि ठोस संरचनाहरू फेला पार्दै आएका छन्। खासगरी, कम्बोडियाली शहरहरू र अमेजन जंगल क्षेत्रमा रहेका प्राचीन गाउँहरूको प्रमाण संकलन गर्न यो प्रविधि सफल देखिएको छ।
(साइन्स अलर्ट डट कमबाट)