काठमाडौँ । बेलायतमा सबैभन्दा लामो समयसम्म शासन गरेकी महारानी एलिजाबेथ द्वितीयाको ९६ वर्षको उमेरमा निधन भएसँगै उनका जेठा छोरा चार्ल्स राजा बनेका छन् ।
७३ वर्षीय चार्ल्स, प्रिन्स अफ वेल्स, रानी एलिजाबेथ द्वितीय र एडिनबर्गको ड्यूक प्रिन्स फिलिपको जेठो छोराको रूपमा ब्रिटिश सिंहासनको उत्तराधिकारी थिए । उनी कुनै समारोहको आयोजना नगरी आमाको निधनपछि स्वतः राजा बनेका हुन् ।
बिहीबार एलिजाबेथको स्वास्थ्यबारे गम्भीर चिन्ता हुँदै गर्दा उनको परिवारका सदस्य उनी रहेको स्कटल्याण्डस्थित निवासमा भेला भएका थिए । पछि बकिंघम दरबारले रानीको निधन भएको पुष्टि गरेको थियो ।
उनको निधनपछि उनका जेठा छोरा पूर्व प्रिन्स अफ वेल्स चार्ल्सले बेलायतको नयाँ राजा र १४ वटा राष्ट्र मण्डलका देशहरूको राष्ट्र प्रमुखका रूपमा शोक मनाउने छन् । महारानी एलिजाबेथले सन् १९५२ मा गद्दी सम्हालेकी थिइन् ।