काठमाडौँ । उत्तरी वजिरिस्तानको बोया क्षेत्रमा आतंकवादीसँग सोमबार भएको झडपमा पाँच जना पाकिस्तानी सैनिकको मृत्यु भएको छ ।
Advertisement
गुप्त सूचनाका आधारमा उक्त स्थानमा सेनाले कारबाही गर्दा चार जना आतंककारीसमेत मारिएका इन्टर सर्भिसेस पब्लिकेशन रिलेसन्स (आइएसपीआर)ले जनाएको छ । उक्त स्थानबाट हातहतियार बरामद भएको छ ।
मारिएका आतंककारी सुरक्षा बल र निर्दोष नागरिकको हत्यामा सक्रिय रूपमा संलग्न थिए । खैबर पख्तुनख्वामा प्रहरीमाथि आक्रमणका घटना बढ्दै गएका छन् । पाकिस्तानी अधिकारीले सबै सुरक्षा चौकीमा सुरक्षा व्यवस्था सुदृढ बनाएका छन् ।
यसअघि गत साउन ३० गते सुरक्षा बलले उत्तरी वजिरिस्तान जिल्लाको मीरअली क्षेत्रमा गरेको कारबाहीका क्रममा एक जना आतंकवादीलाई मारेको थियो ।
त्यसअघि सोही इलाकामा आतंककारी र सुरक्षाकर्मीबीच झडप हुँदा एक जना सैनिक जवानको मृत्यु भएको थियो ।