काठमाडौँ । भारतीय टेलिभिजनको विवादास्पद रियालिटी शो ‘बिग बोस १६’ चाँडै नयाँ सिजनका साथ पुनरामगन गर्दै छ । नयाँ सिजनका लागि शोका होस्ट सलमान खानले अघिल्लो १५ औँ संस्करणभन्दा तीन गुणा बढी पारिश्रमिक लिँदै छन् ।
समाचारमा जनाइएअनुसार यो सिजनका लागि सलमानले एक हजार करोड भारतीय रुपैयाँ पारिश्रमिक लिँदै छन् । यदि, यो खबर सत्य हो भने सलमानले लिने यो पारिश्रमिक वर्षैकै सर्वाधिक कमाई गरेको फिल्म ‘केजीएफः च्याप्टर २’को बजेटभन्दा १० गुना बढी हो ।
यश स्टारर फिल्म ‘केजीएफः च्याप्टर २’ करिब सय करोडको बजेटमा निर्माण भएको हो । यसले बक्स अफिसमा करिब एक हजार करोड भारतीय रुपैयाँको कमाई गरेको थियो । यही हिसाबले सलमान वर्षको ब्लकबस्टर फिल्मको बजेटभन्दा १० गुना बढी पारिश्रमिक लिन लागेका हुन् ।
‘बिग बोस १६’ अक्टोबरको सुरुवातसम्ममा अन एयर हुने छ । केही दिनअघि मात्र यस सिजनको सेटको फोटो सामाजिक सञ्जालमा लिक भएको थियो ।