काठमाडौँ । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईको पार्टीका सबै उम्मेदवारले नेकपा माअोवादी केन्द्रको चुनाव चिह्नबाट निर्वाचनमा जाने भएको छ । नेपाल समाजवादी पार्टीका डा. भट्टराई र माओवादीका अध्यक्ष प्रचण्डबीच लामो छलफलपछि समाजवादी पार्टीलाई माओवादीले चुनाव चिह्न दिने भएको हो ।
डा. भट्टराई ०७२ असोजसम्म माओवादी नेताकै नेता थिए । अब, डा. भट्टराईका उम्मेदवारहरूले गोलाकारभित्रको हसियाँ हथौडा चुनाव चिह्नमा चुनाव लड्ने भएका छन् ।
निर्वाचन आयोगले साउन ३१ गतेसम्म दल दर्ताको समय दिएको छ । सो समयावधिसम्म माओवादी र समाजवादी पार्टीले दल दर्ता गरेको छैन । दुई पार्टीबीच चुनावी छलफल भएकाले दल दर्ता गराउन ढिला भएको हो ।
निर्वाचन आयोगले एक साताअगाडि निकालेको दल दर्तासम्बन्धी सूचनामा दुई वा सोभन्दा बढी दलले एकै चुनाव चिह्न लिएर निर्वाचनमा सहभागी हुन सक्ने उल्लेख छ ।