काठमाडौँ । बाँकेको नरैनापुर गाउँपालिकाले आफ्नो क्षेत्रलाई सुक्खा क्षेत्र घोषणा गरेको छ । गाउँपालिकाको बैठकले पर्याप्त सिँचाइ व्यवस्था नभएको र पानी नपरेकाले धान रोपाइँ पनि हुन नसक्दा बाध्य भएर सुक्खा क्षेत्र घोषणा गर्नु परेको अध्यक्ष इस्तियाक अहमद शाहले जानकारी दिए ।
उनले सो क्षेत्रमा डिप बोरिङको वैकल्पिक उपाय अपनाउन प्रदेश र सङ्घीय सरकारलाई आग्रह गरेको उल्लेख गर्दै राहतको प्याकेजसमेत ल्याउन माग गरेका छन् । “भगवान् पनि निष्ठुर हुनु भयो, नेपालगञ्जमा पानी पर्छ तर नरैनापुरमा पानी पर्दैन,’’ उनले भने ।
उनले केही ठाउँमा लगाएको धानबालीसमेत नष्ट भइसकेको उल्लेख गर्दै उक्त क्षेत्रमा पानी नपरेपछि खेतीयोग्य जमिन बाँझो रहेको र पानीको स्रोतहरु सुक्न थालेको बताए । “यस क्षेत्र त्यसै पनि गरिबीको चपेटामा छ, आकासे पानीको भर पर्दा यहाँको अवस्था दयनीय भएको छ”, अध्यक्ष शाहले भने, “खडेरीले गर्दा कृषिमा आश्रित बहुसङ्ख्यकको जीवन कष्टकर बन्दै गएकाले प्रदेश र सङ्घीय सरकारको ध्यान पुग्न आवश्यक छ ।”
नरैनापुरमा पानीको हाहाकार भएकाले गाउँपालिकालाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरिएको त्यहाँका प्रमुख प्रशासकीय अधिकृत भरत बस्नेतले बताए । गाउँपालिकाको उक्त बैठकले मालपोतमा ८० प्रतिशत कर छुट दिने निर्णयसमेत गरेको उनले जानकारी दिए ।
गाँउपालिकाका अध्यक्ष शाहको अध्यक्षतामा बसेको आकस्मिक बैठकमा सिँचाइका लागि डिप बोरिङलयायत अन्य वैकल्पिक व्यवस्था, सहुलियतस्वरुप डिजलको व्यवस्था र कृषि विद्युतीकरणका साथै कृषि मिटर उपलब्ध गराई विद्युत् महसुल निःशुल्क गराउन प्राथमिकता दिइएको वडा नं ४ का अध्यक्ष मनोज शर्माले बताए । जिल्लाको सो गाउँपालिकालाई दुर्गम गाउँपालिकाका रुपमा चिनिँदै आएको छ ।