काठमाडौँ । श्रीलंकामा कम बिजुली खपत गर्ने मानिसहरूका लागि २६४ प्रतिशतसम्म शुल्क वृद्धि भएको छ । धेरै विजुली खपत गर्ने मानिसहरूका लागि यो दर न्यून राखिएको छ ।
सिलोन विद्युत बोर्ड (सीईबी)ले महसुल नियामकले मंगलबार बढाउन अनुमति दिएको जनाएको छ । यो वृद्धि ९ वर्षपछि हुने भएको हो । नयाँ दरहरू अगस्ट १० गते लागु हुने भएको हो ।
अधिकारीका अनुसार सीईबीले ८०० प्रतिशतसम्म विजुलीको मूल्य वृद्धि गर्ने तयारी गरेको थियो । तर, नियामक निकायले यसलाई परिवर्तन गरी २६४ प्रतिशत वृद्धि गर्न दबाब दिएको थियो । विद्युत महसुलका कारण सीईबीले हालसम्म ६१ करोड ६० लाख डलर घाटा बेहोरेको छ । त्यसको पूर्ति गर्नका लागि दर बढाइएको हो ।
आधिकारिक रेकर्ड अनुसार ९० किलोवाटभन्दा कम खपत गर्ने घर परिवार सबैभन्दा बढी प्रभावित हुने छन् । जबकि ९० किलोवाटभन्दा बढी विद्युत् प्रयोग गर्नेले बिलको ८० प्रतिशत मात्रै तिर्नु पर्ने छ । अहिलेसम्म प्रतियुनिट दुई रुपैयाँ ५० पैसा तिर्ने उपभोक्तालाई अब प्रतियुनिट ८ रुपैयाँ लाग्ने भएको छ । अर्कोतर्फ, योभन्दा बढी उपभोग गर्ने उपभोक्ताले प्रतियुनिट ४५ रुपैयाँको सट्टा ७५ रुपैयाँ तिर्नु पर्ने छ ।
सीईबीलाई थर्मल जेनेरेटरका लागि तेल किन्न पैसा अभाव भएको छ । जसका कारण मुलुकले उच्च मुद्रास्फीति र लामो समयसम्म विद्युत् अवरुद्धको सामना गरिरहेको छ । सरकारले अन्तर्राष्ट्रिय मुद्रा कोषसँग ऋण लिने विषयमा कुरा गरिरहेको बताएको छ । एजेन्सी