काठमाडौँ । अमेरिकी प्रतिनिधिसभाका सभामुख न्यान्सी पेलोसीको गत हप्ता ताइवान भ्रमणमा आएसँगै चीनले सैन्य अभ्यास जारी राखेको छ । चीनको सैन्य अभ्यास ताइवानमा केन्द्रीत भएको छ ।
यसै क्रममा ताइवानका विदेशमन्त्रीले चीनको यो सैन्य अभ्यास आक्रमणको तयारी भएको बताएका छन् । मङ्गलबार सञ्चार माध्यमसँग कुरा गर्दै ताइवानका विदेशमन्त्री जोसेफ वुले चीनले ताइवान जलडमरूको यथास्थिति परिवर्तन गर्ने प्रयास गरिरहेको बताए ।
‘ताइवान स्ट्रेटमा मध्य रेखाको सन्दर्भमा दशकौँदेखि यथास्थिति रहेको छ, मध्य रेखा चीन र ताइवानबीच यथास्थितिको प्रतीक भएको छ,’ जोसेफ वुले भने, ‘तर, पछिल्ला केही दिनमा चिनियाँ सैन्य अभ्यासले यसमा क्षति पुगेको छ, यसले ताइवानको क्षेत्रीय शान्ति, स्थायित्व र सुरक्षामा प्रतिकूल असर पार्नेछ ।’
ताइवानको रक्षा मन्त्रालयले सोमबार साँझ ५ बजेतिर ३९ चिनियाँ लडाकु विमान र १३ वटा युद्धपोत ताइवानको जलक्षेत्रमा आइपुगेको जनाएको छ ।